कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर बेलौरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य एक सातादेखि अवरुद्ध भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौँडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो ।
सडकको मौजुदा संरचनाअन्तर्गतनै टो–बाल निर्माण गर्ने, माटो भरान गर्ने, ग्याबिन जाली राख्ने, कालोपत्रेका लागि बेस राख्नेलगायतका कार्य अगाडि बढाउन खोजिएपछि निकुञ्ज कार्यालयले निर्माण कार्य रोकेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीले बताउनुभयो । “जिल्लाको पुरानो सदरमुकाम बेलौरी हुँदा देखिनै करिब ५० वर्षअघि सडक निर्माणको कार्य गरिएको थियो”, पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले भन्नुभयो, “त्यही सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि बेस बिछ्याइसकेको अवस्थामा निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पेश नगर्दासम्म कार्य अगाडि बढाउन नदिने जानकारी गराएको छ ।” उहाँका अनुसार निर्माण कार्यको ठेक्का पाएको सन्तोषी थेगिम जेभी निर्माण कम्पनीलाई कार्य अगाडि बढाउन दिइएको छैन ।