वीरगञ्ज। सीमाक्षेत्रबाट भइरहेको अनधिकृत आयातनिर्यात र अपराध नियन्त्रणमा सरोकारावाला सबै क्षबीच सहकार्यको खाँचो औंल्याइएको छ । शुक्रबार वीरगञ्जमा आयोजित ‘राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राजस्व चुहावट र अपराध नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण भएको बताए । यसमा सबैले एकअर्कासँग सहकार्य गर्नुपर्ने भन्दै महानिरीक्षक अर्यालले कुनै पनि अपराधमा संलग्न देखिने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिए ।
‘तस्कर र प्रहरीको साँठगाँठ कुनै हालतमा हुनु भएन, स्थानीयबाट यस्तो गुनासो संगठनले सुन्न पनि चाहँदैन । संठनविपरीत काम गर्ने कसैलाई पनि छाडिने छैन,’ राजस्व चुहावटमा सहयोग गरेको पाइएमा सशस्त्र प्रहरीका जोसुकै दर्जावालाको पनि बर्दी फुकाल्ने चेतावनीसहित उनले भने । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक खुशी भएमात्रै सीमा सुरक्षित हुने अर्यालले बताए । सीमाक्षेत्र सुरक्षा र सुधारमा सशस्त्र प्रहरीको जिम्मेवारी अझ बढी भएको भन्दै उनले कमी कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । राजस्व बढाउन अर्थ र गृह मन्त्रालय संवेदनशील रहेको उनले बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सीमाक्षेत्रमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी सक्रिय रहेको बताए । यसका लागि रणनीतिक उपाय अपनाइएको उनको भनाइ छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र साहले राजस्व चुहावट नियन्त्रणमा सीमाक्षेत्रका बासिन्दा, उद्योगी, व्यापारी सबैको सहयोग आवश्यक पर्ने बताए । सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणमा संवेदनशील हुन नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले ध्यानाकर्षण गराए ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले देशभित्र उद्योग व्यापार फस्टाउन अवैध कारोबार र अपराध नियन्त्रण हुनुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको रवैया व्यवसायमैत्री नभएको गुनासो गरे । सिमानामा प्रहरी खटिए अनधिकृत व्यापार नियन्त्रण हुन नसकेको तर तिनै निकायबाट वैध कारोबारीले अनावश्यक दु:ख पाइरहेको कार्यक्रमका सहभागीले गुनासो गरे ।