काठमाडौं । पहिलो चरणमा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र (लाइसेन्स) लिएका सात नयाँ ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट पनि आशयपत्र पाएका छन् । जेठ २७ गतेको नेप्से सञ्चालक समिति बैठकले ती कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।
नेप्सेको सुपरिवेक्षण विभाग प्रमुख गिरिराज दाहालले कारोबार प्रणालीसम्बन्धी प्राविधिक कुराहरू तयार गर्न निर्देशन दिँदै आशयपत्र प्रदान गरेको बताए । उनका अनुसार आशयपत्र पाउने सात कम्पनीमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेड छन् ।
यी कम्पनीले कारोबार प्रणाली व्यवस्थापनको काम पूरा गरेपछि नेप्सेको सुपरिवेक्षण टोलीले अनुगमन गर्ने र उपयोगी देखिए सदस्यताको लाइसेन्स दिने दाहालको भनाइ छ ।
सातओटै कम्पनीले नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले नेप्सेको निर्देशनबमोजिम आगामी काम पूरा गर्न आशयपत्र प्राप्त गर्ने सबै कम्पनी लागिपरेको बताए ।
धितोपत्र बजारमा सकारात्मक प्रभाव पार्ने गरी नयाँ ब्रोकर कम्पनी भित्रिने तयारी भइरहेको उनले दाबी गरे । अब कारोबार विनियमावलीमा भएको व्यवस्थाबमोजिम आवश्यक काम पूरा गरी असारभित्रै लाइभ कारोबारमा जाने गरी काम अघि बढाउने गिरीले बताए ।
नेप्सेले आशयपत्र प्रदान गरेका सात कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जेठ ८ गते ब्रोकर लाइसेन्स दिने निर्णय गरेको थियो । बोर्डबाट लाइसेन्स पाएपछि ती कम्पनी नेप्सेमा सदस्यताका लागि पुगेका थिए ।
यी बाहेक थप ११ कम्पनीले ब्रोकर लाइसेन्स पाइसकेका छन् । यिनले पनि नेप्सेको आशयपत्रका लागि आवेदन दिइसकेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गरेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि रू. २० करोड, शेयर खरीदविक्रीसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । बोर्डले लाइसेन्स दिएका ४३ कम्पनीमा एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् ।