म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान शुरू भएको हो । आयोजनाका इञ्जिनीयर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवतजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताए ।
‘ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण शुरू गरेको छ,’ उनले भने, ‘एक वर्षभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रू. तीन करोड ५६ लाखमा यसै महीना ठेक्का सम्झौता गरेको छ ।
कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता भएलगत्तै बेलिब्रिजको फाउण्डेशन र पर्खाल निर्माण शुरू गरिएको बताए । कम्पनीमार्फत बेलिब्रिज निर्माणका साथै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको छ । विसं २०६४ मा जडान गरिएका महभिर र पोखरे बगरका बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छन् । तीमध्ये एउटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो ।
वर्खायाममा रुप्से खोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । २०७७ साउनमा बाढीले रुप्से खोलामा निर्माणाधीन पक्की पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ ।
निर्माणका क्रममा रहेको रुप्से र मुस्ताङको खहरेखोलाको पुलको संरचना बाढीले बगाएपछि डिजाइन परिवर्तन गरेर नयाँ बनाउन प्रक्रिया अघि बढाइएको बेनी जोमसोम कोरला सडक आयोजनाले बताएको छ । रासस