काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९/८० मा सवा ३ अर्बको पस्मिनाका सामान निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले ३ अर्ब २४ करोड रुपैयाँको पस्मिना निर्यात गरेको हो । यो रकम अघिल्लो आव २०७८/७९ मा भन्दा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा पस्मिना निर्यातबाट २ खर्ब ८२ करोड रुपैयाँ भित्रिएको थियो ।
पस्मिना निर्यातबाट भित्रिने रकम गत आवमा मात्रै बढेको होइन, पछिल्ला चार वर्षयता बढेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने आव ०७६/७७ मा यता पस्मिनाका सामान निर्यातको रकम बढ्दै गएको छ । सो आवमा २ अर्ब २६ करोडभन्दा बढीको पस्मिनाका सामान निर्यात गरिएको थियो । आव ०७७/७८ मा भने त्यो रकम बढेर २ अर्ब ७० करोडभन्दा बढी पुग्यो ।
६ वर्षमा निर्यात परिणाम र मूल्य
आव
परिणाम (थान)
मूल्य (रु हजारमा)
074÷75
3863012
2485156
075÷76
2988755
2514200
076÷77
1479255
2267949
077÷78
1307479
2700083
078÷79
5873322
2821131
079÷80
1850502
3249301
स्रोत : भन्सार विभाग
निर्यात बढ्न थालेसँगै व्यवसायी पनि उत्साहित छन् । उनीहरू आउने दिनमा यसको निर्यात रकम अझै बढ्ने दाबी गर्छन् ।
गत आवमा निर्यातबाट सर्वाधिक रकम भित्र्याउने वस्तुमा पस्मिना १२ औं नम्बरमा पर्छ । त्यसकारण पनि पस्मिना मुलुकको व्यापार घाटा कम गर्नका लागि महत्त्वपूर्ण रहेको व्यवसायीहरू बताउँछन् ।
नेपाल पस्मिना उद्योग संघका अध्यक्ष विजय कुमार दुगड कोभिड–१९ पछि पस्मिना उद्योगमा धेरै सुधार आएको बताउँछन् । उनका अनुसार अहिले नेपाली पस्मिनाको व्यापार विदेशी मुलुकहरूमा मात्र नभएर नेपालभित्रै पनि सुधार आएको छ । ‘कोभिड–१९ पछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेसँगै ठमेल, पाटन, पोखरालगायत क्षेत्रमा पस्मिनाको व्यापार बढेको छ,’ उनले भने ।
नेपालको निर्यातमा पनि सुधार आएको उनी बताउँछन् । ‘विगतका वर्षहरूमा नेपालबाट पस्मिनाको सल र स्कार्फ मात्र निर्यात हुने गरेको थियो । तर, अहिले निर्यातको प्याटर्न परिवर्तन भएको छ । अन्तराष्ट्रिय बजारमा सल र स्कार्फको मात्र नभएर बुनाइको स्वेटर, मोजा, ब्लाउजलगायत झण्डै २० ओटा बुनाइको वस्तुहरूको माग पनि बढेको छ,’ उनले भने ।
दुगडका अनुसार नेपाली पस्मिना युरोपका देशसँगै अमेरिका, जापानलगायत देशमा बढी निर्यात हुने गरेको छ ।
साढे ७ करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य
सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर (आजको अमेरिकी डलरको आधारमा ९ अर्ब ९६ करोडभन्दा बढी) पुर्याउने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ ल्याएको छ । उक्त रणनीतिअन्तर्गत सरकारले नेपालमा नै पस्मिनाको धागो उत्पादन बढाउन मुस्ताङ, मनाङ, डोल्पालगायत जिल्लामा च्याङ्ग्राको ऊन संकलन केन्द्र सञ्चालन गरेको छ ।
त्यहाँको किसानहरूलाई च्याङ्ग्राबाट ऊन निकाल्ने तालिम पनि दिइएको दुगडले जानकारी दिए । उनका अनुसार नेपालको उन्नत जातको च्याङ्ग्राहरू पहिचान गर्न मुस्ताङको ४ ओटा गाउँपालिकाबाट ८०० ओटा च्याङ्ग्राको ऊनको स्याम्पल परीक्षण गर्न मंगोलिया पठाइएको छ । नेपालले अहिले मंगोलिया, चीनलगायत देशहरूबाट पस्मिनाको कच्चा पदार्थ आयात गरिरहेको छ ।
उनी पस्मिना उद्योगमा सुधार आउने र निर्यात अझ बढ्ने बताउँछन् । ‘सरकारले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिअन्तर्गत धेरै काम अघि बढाइसकेको छ । यही कारण निर्यातमा सुधार आइसकेको छ । आउने दिनहरूमा पनि निर्यात बढ्ने देखिन्छ,’ उनले भने । उनका अनुसार देशभर पस्मिनासँग सम्बन्धित करीब १५ हजार उद्योग छन् । यी उद्योगहरूमा झण्डै ५० हजारले प्रत्यक्षरूपमा रोजगारी पाएको उनको दाबी छ ।