चैत २६, कोलम्बो । श्रीलंकाका पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ ।
मुलुकको आर्थिक संकटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलंकाको एउटा अदालतले हालै राजीनामा दिएका केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको हो ।
कोलम्बोस्थित एक अदालतले गत सोमवार मात्र गभर्नर पदबाट राजीनामा गरेका अजिथ निभार्द चार्बाललाई उनी विरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ । अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो ।
राष्ट्रपति गोताबाया राजपाक्षद्वारा बैंकको नेतृत्व गर्न चुनिएका चार्बाल श्रीलंकाको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय संकटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले तर्क गरेका छन् ।
टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा केन्द्रीय बैंकको नेतृत्व गर्दा पूर्व बैंक प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’ का लागि जिम्मेवार भएको कुरा अदालतमा बयान दिएका थिए । उनी गत वर्षको सेप्टेम्बरमा १६ औं गभर्नरको रुपमा नयाँ कार्यकालका लागि नियुक्त भएका थिए ।
यसैबीच गत हप्ताको शुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलंकाका सत्तारुढ दलका सांसद अली साब्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।
उनलाई गत सोमवार राष्ट्रपति राजपाक्षले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । तर उनले नियुक्त भएको दुई दिन पनि नवित्दै राष्ट्रपतिलाई राजीनामा पेश गरेका थिए । तर राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भएको थिएन ।
उनले शुक्रवार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।
अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति राजपाक्षले सबारीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताएका हुन् ।
श्रीलङ्कामा आर्थिक संकट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । एजेन्सीहरु