काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाड बढाउन नदिए गाडी नचलाउने चेतावनी दिएको छ । महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्नको माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई बुझाइएको ज्ञापन पत्रमा महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ ।
यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ ।
महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो ।
प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।