विराटनगर । पछिल्लो १० वर्षमा प्रदेश १ का ९ जिल्लाको जनसंख्या घटेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतीजा अनुसार प्रदेशका पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम, सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ मा भन्दा २०७८ मा कम भएको पाइएको हो ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ मा भन्दा कम भएको छ, जसमा प्रदेश १ का ९ जिल्ला छन् । खोटाङमा २०६८ मा भन्दा ३० हजार ९०० जनसंख्या कम भएको छ । २०६८ मा २ लाख ६ हजार ३१२ रहेकोमा २०७८ मा १ लाख ७५ हजार ३४० मा झरेको छ ।
भोजपुरको जनसंख्या २०६८ मा १ लाख ८२ हजार २५९ रहेकोमा २०७८ मा १ लाख ५८ हजार ९९१ मा झरेको छ । तेह्रथुममा २०६८ मा १ लाख १ हजार ५७७ जनसंख्या रहेकोमा २०७८ मा ८९ हजार १२५ मा झरेको छ । पाँचथरमा २०६८ मा १ लाख ९१ हजार ८१७ जनसंख्या रहेकोमा २०७८ मा १ लाख ७४ हजार ४१९ कायम भएको छ ।
धनकुटाको जनसंख्या २०६८ मा १ लाख ६३ हजार ४१२ रहेकामा २०७८ मा १ लाख ४९ हजार ९८४ कायम भएको छ । ताप्लेजुङमा २०६८ मा १ लाख २७ हजार ४६१ जना रहेकोमा २०७८ मा १ लाख २० हजार ३५९ मा झरेको छ । ओखलढुंगामा २०६८ को जनसंख्या १ लाख ४७ हजार ९८४ रहेकोमा २०७८ मा १ लाख ४० हजार ९१४ मा झरेको छ ।
इलाममा २०६८ मा २ लाख ९० हजार २५४ जनसंख्या रहेकोमा ०७८ मा २ लाख ८० हजार ५६५ मा झरेको छ । सोलुखुम्बुमा २०६८ मा १ लाख ५ हजार ८८६ जना रहेकोमा २०७८ मा १ लाख ४ हजार ७६८ मा झरेको केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक तथ्यांक छ ।
प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा भने जनसंख्या बढेको छ । संखुवासभाको जनसंख्या १० वर्षमा ३०४ जना बढेर १ लाख ५९ हजार ४६ पुगेको छ । प्रदेश १ का ५ जिल्लामा २०६८ को भन्दा जनसंख्या बढेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै जनसंख्या झापाको बढेको छ । झापाको जनसंख्या २०६८ मा ८ लाख १२ हजार ६५० रहेकोमा अहिले १ लाख ८१ हजार ४४० ले बढेर ९ लाख ९४ हजार ९० पुगेको छ ।