पुस १४, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीले साधारण सभा बिहीवार पुस बोलाएका छन् ।
सनराइज बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साधारण सभा बिहीवार बोलाएका हुन् । सनराइज बैंकले आम्रपालि ब्याक्वेंट बालुवाटारमा बिहान १०ः३० बजे शुरु हुने जानकारी दिएको छ ।
सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिक साधारण सभा बिहीवार एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ६ गते बन्द गरिसकेको छ । यस आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।