डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुलमा सधैं किचलो

काठमाडौं। डेडिकेटेड फिडर र ट्रंक लाइनबाट लिएको बिजुलीको बक्यौता महशुल तिर्ने विषय लामो समयसम्म पनि टुंगिन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले बेलाबेलामा बक्यौता तिर्न र नतिरे लाइन काट्ने भन्दै सूचना जारी गर्छ । त्यसलगत्तै निजीक्षेत्रका व्यवसायी उक्त बक्यौता नतिर्ने र लाइन काटियो भने उद्योग क्षेत्र नै धराशयी हुने भन्दै प्रधानमन्त्री तथा विभागीय मन्त्री गुहार्न पुग्छन् ।  यो क्रम सोमवार पनि दोहोरिएको छ । प्राधिकरणले भदौ १७ गते आइतवार डेडिकेटेड फिडर र ट्रंक लाइनबाट लिएको बिजुलीको बक्यौता महशुल तिर्न १५ दिने सूचना जारी गरेको थियो । उक्त समय घर्किनै लाग्दा उद्योगी, व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापा र महासंघका पूर्वअध्यक्षलगायत उद्योगी समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । उक्त अवसरमा दाहालले डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुलको समस्या समाधान गर्न अध्ययन भइरहेको भन्दै यस विषयमा निक्र्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उक्त निर्देशनपछि सम्बद्ध उद्योगमा बिजुली नकाटिए पनि बक्यौता तिर्ने विषय भने टुंगिएको छैन ।  महासंघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो ।’ प्राधिकरणको १५ दिने सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगलाई विद्युत् आपूर्ति रोकिने चेतावनी छ ।  व्यवसायी भेटेपछि प्रधानमन्त्रीले प्राधिकरणका प्रबन्ध निर्देशकलाई फोन गरेर बिजुली नकाट्न निर्देशन दिएको भनिए पनि प्राधिकरणमा कतैबाट लिखित त्यस विषयमा जानकारी प्राप्त नभएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । प्राधिकरणले बिजुली कटौतीभन्दा पनि बक्यौता असुलीमै बढी जोड दिएको भन्दै उनले थपे, ‘बक्यौता नतिर्नेको लाइन काटिन सक्छ । किनभने सोमवार कार्यालय समयसम्म प्राधिकरणमा बक्यौता नउठाउन र लाइन नकाट्न भनेर कतैबाट लिखित निर्देशन आएको छैन ।’ प्रमाण नदिएसम्म बक्यौता नतिर्ने व्यवसायीको अडान कायमै लिखित निर्देशन प्राप्त नभएसम्म प्राधिकरणले जारी गरेको सूचनाअनुसार नै काम गर्ने सिलवालले स्पष्ट पारे । प्राधिकरणले बक्यौता तिर्न व्यवसायीलाई भनेपछि विगतमा अदालतमा मुद्दासमेत दायर भएको थियो । ‘हालसम्म ४९ ओटा फैसला प्राधिकरणको पक्षमा भएका छन्, अर्थात् अदालतको फैसलामा प्राधिकरणले बक्यौता उठाउन पाउने उल्लेख छ,’ सिलवालले भने, ‘दुईओटा सिमेन्ट उद्योग (शिवम् र मारुती)को भने अदालतबाटै लाइन नकाट्नू भन्ने आदेश आइसकेको छ ।’  महासंघका अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको भेटमा अहिलेको आर्थिक संकटमा उद्योग, व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको र यस्ता निर्णयले व्यवसायी हतोत्साहित हुने बताए । यस अवस्थामा सरकारले उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्नेमा पनि उनले जोड दिएको महासंघको विज्ञप्तिमा उल्लेख छ । ‘हाल हामीलाई सरकारको सहयोग र समर्थन चाहिएको छ,’ ढकाललाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘थप समस्या सृजना गरिदिनु भएन ।’ सोमवार प्रधानमन्त्रीसँगको छलफलमा सहभागी महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले तिर्नुपर्ने भए व्यवसायीले अहिलेसम्म तिरिसक्ने तर्क गरे । २०७५ वैशाखदेखि मुलुक लोडशेडिङमुक्त भएको थियो । लोडशेडिङ अन्त्य भएको ३ वर्षपछि प्राधिकरणले उद्योगीहरूलाई छुट्टै बिजुली उपयोग गरेको भनेर महशुल तिर्न पत्र पठाएको थियो । ‘लोडशेडिङका बखत अतिरिक्त (एक्स्ट्रा) बिजुली दिएको छ भने प्रमाण दिनुहोस्,’ उनले भने, ‘तर, हामीसँग भएको प्रमाणले उक्त अवधिमा प्राधिकरणले अतिरिक्त बिजुली नदिएको देखाउँछ ।’  प्राधिकरणका अनुसार ६७ ओटा उद्योगले यस्तो लाइन प्रयोग गरेबापत बक्यौता तिर्नुपर्नेछ । प्राधिकरणका अनुसार शुरू बक्यौतामा शुल्क (ब्याज जरीवाना) जोडिँदा अहिले त्यो बढेर २० अर्ब रुपैयाँ पुगेको छ ।

सम्बन्धित सामग्री

कुलमानले गरे मन्त्रिपरिषद् निर्णयको अवज्ञा

मन्त्रिपरिषद्ले मंगलबार डेडिकेटेड फिडर र ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि आयोग गठन गरी उद्योगहरुमा लाइन तत्काल जोडिदिने निर्णय गर्‍यो । ऊर्जा मन्त्रालयले सोहीअनुसारको निर्देशन बिहीबार दियो, जुन प्राधिकरणमा पुगिसकेको छ तर कुलमानले लाइन जोडिदिएनन् ।

किन अड्कियो डेडिकेटेड–ट्रंक लाइन विवादको निकास ?

वीरगञ्ज । सरकार र नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महशुलको लफडालाई ‘अनिर्णयको बन्दी’ बनाएको निजीक्षेत्रले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजीक्षेत्रसँगको भेटमा विद्युत् महशुल निर्धारण आयोगले महशुल तोक्नुअघि र औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य भएयताको महशुलमा प्रिमियम शुल्क नलाग्ने बारम्बार दोहोर्‍याए पनि सो विषय कार्यान्वयनमा नआउँदा निकास कचल्टिएको उद्योगीहरूले बताएका हुन् ।   तत्कालीन उर्जा सचिव दिनेश घिमिरे संयोजकत्वको समितिले समेत २०७२ पुस २९ गते विद्युत् महशुल निर्धारण आयोगले प्रिमियम महशुल निर्धारण गरेकाले त्यसअघिको महशुलमा प्रिमियम लिन नमिल्ने सुझाएको थियो । समितिले लोडशेडिङ अन्त्य भएपछि २०७५ जेठयताको महशुलमा पनि यो शुल्क लिन नहुने बताएको थियो । विद्युत् नियमन आयोगले पनि यही ठहर गर्दै २०७७ असारमा डेडिकेटेड र ट्रंक लाइन खारेज गरेको थियो । सरकार, सरकारले गठन गरेका समिति, अयोग सबैले यो अवधिवाहेकको महशुलमा मात्र प्रिमियम शुल्क तिर्नुपर्नेमा बताइरहँदा उद्योगी समेत यो सर्तमा सहमत देखिन्छन् । तर, सरकारले यसबारेमा द्रुतमार्गबाट निर्णय नगर्दा समस्याले निकास पाउन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताएका छन् । ‘उद्योग बन्द गरेर समस्या झन् गम्भीर बन्दै जान्छ । उद्योगमा तत्काल लाइन जोडेर महशुल भुक्तानीको लागि सरकारले सहज वातावरण बनाइदिनु पर्दछ,’ अग्रवाललको भनाइ छ ।  प्रधानमन्त्रीले उद्योगीलाई आश्वासनमात्र दिने र प्राधिकरणले लाइन काट्दै जाने अवस्थाले औद्योगिक क्षेत्रका अशान्तिका संकेत देखिएको संघले बताएको छ । लाइन काटिएका २३ मध्ये ८ ओटा ठूला उद्योग बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेको र २ हप्ताभन्दा लामो समयदेखि उत्पादन बन्द हुँदा कतपिय उद्योगका कामदार सडकमा उत्रिएको संघका उपाध्यक्ष माधव राजपालले बताए ।  समस्याको निकासमा सरकारी ढिलाइले उत्पादन, रोजगारी, राजस्व, विद्युत् खपत घटेको दाबी उनले गरे । तर, प्राधिकरणले कति उद्योगलाई २०७० सालदेखि र कतिपयलाई २०७७ असारसम्म प्रिमियम महशुलको बील पठाएको उद्योगीहरूले बताएका छन् । प्राधिकरणले यस्ता उद्योगसँग २२ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउनुपर्ने बताए पनि यो रकममा प्रमियम दर तोकिनुअघि र लोडशेडिङ अन्त्य भइसकेपछिको रकम बढी भएको प्राधिकरणकै तथ्यांकले देखाउँछ । त्यसमा जरीवाना र ब्याजसमेत जोडिएको छ ।  प्रधानमन्त्रीले यो समयको महशुलमा ६५ प्रतिशत महँगो प्रिमियम शुल्न नलाग्ने बताएकाले यो निर्णय कार्यान्वयनमा आएमा दुई तिहाईजति रकमको विवाद स्वत : समाधान हुने दाबी उद्योगीको छ । प्राधिकरणले ६० किस्तामा महशुलन तिर्न सक्ने बताइसकेकाले महशुल तोक्नुअघि र लोडशेडिङ अन्त्य भइसकेपछिको रकम र जरीवाना हटाउनेवित्तिकै अधिकांश उद्योगले लाइन जोडाएर उद्योग चलाउने दाबी उद्योगीको छ ।  प्राधिकरणले कति उद्योगलाई २०७० सालदेखि र कतिपयलाई २०७७ असारसम्म प्रिमियम महशुलको बील पठाएको उद्योगीहरूले बताएका छन् । यस्तो रकम नतिर्ने अडान उद्योगीहरूको छ । कतिपय उद्योगीले आफूहरूले डेडिकेटेड र ट्रंक लाइन माग नगरेको र लोडशेडिङ पालन गरेको भन्दै टाइम अफ डे (टीओडी) मीटरको डाटा देखाउन चुनौती दिएका छन् । प्राधिकरणले यस्तो डाटा मेटिएको बताउँदै आएको छ ।  लोडशेडिङको समयमा डेडिकेटेडको सुविधा उपभोग गरेकाले प्रिमियम महशुल तिर्नुपर्ने भए पनि उपयोग नगरेकालाई जबर्जस्ती तिराइन नहुने नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका अध्यक्ष सुवोधकुमार गुप्ता बताउँछन् । ‘प्राधिकरणले टीओडीको डाटा छैन भन्न मिल्दैन । जसले उपयोग गरेर पनि तिर्दिन भनेको छ भने डाटा देखाएर विद्युत चोरीमा कारवाही गर्दा हुन्छ । तर, उपयोग नै नगरेकालाई जबर्जस्ती तिराउनु अन्याय हुन्छ,’ गुप्ताले भने ।

प्राधिकरणले बिजुली काटिदिंदा उद्योग बन्द, १६ हजार मजदुर मारमा

११ पुस, काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको विद्युत् लाइन काटिदिएपछि त्यसको सबैभन्दा ठूलो मारमा मजदूरहरु परेका छन् । ती ९ उद्योगमा करिब १६ हजार मजदूर कार्यरत छन् । त्यसमध्ये ३० प्रतिशत दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएकाले दैनिक ज्यालादारी […]

प्राधिकरण सप्रमाण प्रस्तुत होऊ, उद्योगी महसुल बुझाऊ

‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ विवाद समाधान गर्ने तत्परता प्रधानमन्त्री स्वयंले लिनुपर्छ ।

डेडिकेटेड लाइनमा कुलमानको बदमासीलाई प्रधानमन्त्रीको साथ

पहिलो त पुसमा स्वीकृत विनियमावली त्यसको ६ महिनाअघि साउन १ गतेदेखि कसरी लागू हुन्छ ? प्राधिकरणले यहीँ जालसाजी गरेको छ । दोस्रो– विनियमावलीले विद्युत् महसुल निर्धारण आयोगले गरेको निर्णयलाई नै तोडमोड गरेको छ ।

डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद : शीर्ष नेता गुहार्ने उद्योगीहरूको तयारी

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेपछि उद्यागीहरूले उच्चस्तरको राजनीतिक पहल गर्ने तयारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी...

डेडिकेटेड र ट्रंक लाइन महशुल विवादको स्थायी समाधान

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद विगत ८ वर्षदेखि अल्झिरहेको छ । यस विषयलाई प्राधिकरणले समाधान गर्न नचाहेको हो वा व्यवसायीको महशुल नतिर्ने नियत हो भन्नेमा सधंै अस्पष्टता कायम रहनु दुवै पक्षका लागि राम्रो होइन । उद्योगीहरूको काम प्राधिकरणसँग विवाद गरेर बसिरहनु पनि होइन तर यो विवाद बेला बेलामा आइरहने र फेरि थन्किने गरेको छ । यसले सरकारी काममा हुने गैरजिम्मेवारी र लापरबाहीलाई देखाएको छ ।  डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका व्यवसायीले महशुल तिर्नैपर्ने अडानमा प्राधिकरण देखिन्छ । तर, उद्योगीहरू भने आफूले उपभोग गर्दै नगरेको बिजुलीको महशुल तिर्न लगाइएको भनी विरोधमा छन् । उनीहरूले त्यस्तो बिजुली प्रयोग गरेको प्रमाण देखाउन प्राधिकरणलाई चुनौती दिएका छन् । यो विवाद अदालत र अख्तियारसम्म पुगे पनि समाधानको बाटो निक्लिएको छैन । सोमवार निजी क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर यो समस्या अवगत गराउँदा प्रधानमन्त्री दाहालले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेर समस्याको समाधान गर्न अध्ययन भइरहेकाले उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न निर्देशन दिनुभएको समाचार आएको छ । वर्षौंदेखि अल्झिएको यो विवादलाई समाधान गर्नुपर्नेमा मौखिक आदेश दिएर तत्काललाई पन्छाउने खोजिएको छ । यो गलत हो । यदि उद्योगीहरूले बक्यौता तिर्नैपर्ने हो भने तिर्न लगाउनुपर्छ । यदि प्राधिकरण नियमसम्मत ढंगले काम गरिरहेको छ भने उसले प्रधानमन्त्रीलाई यो कुरा भन्न पनि सक्नुपर्छ । तर, निर्देशन आएपछि चुप लाग्ने र प्राधिकरणको ब्यालेन्स सीटमा नाफा देखाउनुपर्ने अवस्था आएमा यसलाई सम्झने प्रवृत्ति निकै खराब छ । यसले स्थिति बसाल्ने होइन, बिगार्ने काम गरेको छ ।  नेपालको शासकीय चरित्र नै विधि र प्रक्रिया स्थापित गर्नु हैन, आफ्नो मुठीमा राख्नु हो जसले गर्दा आफ्नो इच्छाअनुसार कुनै पनि संस्थामा हस्तक्षेप गर्न पाइन्छ, राजनीतिक नियुक्ति गर्न पाइन्छ र आफ्ना अन्य स्वार्थ पूरा गर्न पाइन्छ । यदि प्रधानमन्त्रीले समस्याको दिगो समाधान खोजेको हो भने प्राधिकरणलाई विधिसम्मत तरीकाले समस्याको निकास खोज्नुहोस्् भन्न सक्नुपथ्र्यो । त्यो भन्ने हिम्मत प्रधानमन्त्रीमा देखिएन । हो, लोडशेडिङका बेला उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली दिइएको थियो । डिजेलबाट बिजुली निकाल्नुभन्दा अतिरिक्त महशुल तिरेर प्राधिकरणको बिजुली उपभोग गर्नु उद्योगहरूका लागि केही फाइदाकारी नै थियो । तर, मुलुक लोडशेडिङमुक्त भइसकेपछि उद्योगीहरूबाट अतिरिक्त महशुल तिनु उपयुक्त हुँदै होइन ।  उद्योगी र प्राधिकरणबीच विवाद भएपछि निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था, सरकारी प्रतिनिधि र प्राधिकरण तीन पक्ष बसेर समाधान निकाल्न कुनै ठूलो समस्या देखिँदैन । तर, यसका लागि प्राधिकरण तयार देखिँदैन । उद्योगी र प्राधिकरणबीच विवाद भएपछि निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था, सरकारी प्रतिनिधि र प्राधिकरण तीन पक्ष बसेर समाधान निकाल्न कुनै ठूलो समस्या देखिँदैन । तर, यसका लागि प्राधिकरण तयार देखिँदैन । प्राधिकरण सरकारी निकाय भएकाले ऊ बढी जिम्मेवार हुनुपर्छ । समस्यालाई अनन्तकालसम्म लम्ब्याउँदा त्यसले थप समस्या निम्त्याउँछ जुन प्राधिकरणका लागि राम्रो हुँदैन । अहिले प्राधिकरणले भारतलाई बेचेको भन्दा निकै बढी मूल्यमा उद्योगहरूलाई बिजुली विक्री गरिरहेको छ । यदि नियमित आपूर्ति हुने हो भने उद्योगहरूको लागत कम पर्ने हुँदा प्रतिस्पर्धी क्षमता बढ्छ । व्यवसायीले मुनाफा कमाएका छन् तर त्यससँगै रोजगारी दिएका छन्, सरकारलाई कर तिरिरहेका छन् र अर्थतन्त्रमा योगदान दिएका छन् । यस्ता उद्योगको मागलाई पनि प्राधिकरण र सरकारले सुन्नुपर्छ । मुख्य कुरा यो विवादले प्राधिकरण र उद्योगी दुवैलाई राम्रो गरेको छैन । महशुलको विवादमै ७/८ वर्ष बित्नु र त्यसको समाधान नहुुनु भनेको लज्जास्पद विषय हो । अझ त्यसका लागि थुप्रै समिति बने पनि तिनले सही निकास दिन नसक्नु विडम्बना नै हो । अत: सरकारले विधि र प्रक्रिया पूरा गरेर डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद छिटो सल्टाउनुपर्छ ।