जेठ ९ , काठमाडौं । कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना सञ्चालन गर्ने भएको छ ।
यसका लागि क्यापिटलले जेठ १२ गतेदेखि सर्वसाधारणमा इकाई जारी गर्ने भएको हो । प्रतिइकाई रू.१० अंकित दरका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई क्यापिटलले जारी गर्न लागेको हो ।
क्यापिटलले कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।
उक्त इकाई खरीदका लागि आवेदकहरुले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ । यस इकाई खरीदका लागि छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने जेठ २६ गतेसम्म आवेदन दिन सकिने मिति तय गरिएको छ ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको उक्त योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटललेनै पुरा गर्दैछ । विक्री प्रबन्धकसँगै सी आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।