वीरगञ्ज (अस) । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले एक निर्माण कम्पनीसँग पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरेकोविरुद्धमा परेको मुद्दामा उच्च अदालत जनकपुरको वीरगञ्जस्थित अस्थायी इजलाशले अन्तरिम आदेश जारी गरेको छ ।
वीरगञ्ज इजलाशका न्यायाधीश राजेशकुमार काफ्लेले यस्तो आदेश दिएका हुन् । सडक कार्यालयले रौतहटको लालबकैया खोलास्थित टिकुलिया पुल निर्माणको काम समयमा पूरा नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । सडकले यही जेठ १० गते सम्झौता अन्त्यको सूचना निकालेको थियो । अदालतले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय र सूचना कार्यान्वयन नगर्न आदेश दिएको छ ।
सडक कार्यालयले एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर ठेक्का तोडेपछि पप्पुका सञ्चालक सुमित रौनियार अदालत पुगेका थिए । पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नआएकाले ठेक्का तोड्नु परेको सूचना सडक कार्यालयले निकालेको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख दरोगाप्रसाद साह निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेकाले नियमानुसार ठेक्का सम्झौता अन्त्य गरिएको बताउँछन् ।