काठमाडौं (अस) । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको सहकार्यमा भइरहेको ‘सफा हिमाल अभियान’ मा कोकाकोलाले साथ दिने भएको छ । ‘हिमाल बचाउने प्रयास : हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित अघि बढेको सफा हिमाल अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको हो । उक्त अभियानमा अन्य कम्पनीको सहभागिता रहेकामा ‘दि कोका–कोला फाउन्डेसन’ मुख्य कर्पोरेट साझेदार रहेको कम्पनीले जानकारी दिएको छ ।
पर्वतारोहीले छाडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने उद्देश्यले सो अभियान थालिएको हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल सरसफाइ गर्ने लक्ष्य उक्त अभियानको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत करीब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । अभियान चैत २२ देखि शुरू भएको थियो ।