काठमाडौं (जाने) । कोभिड–१९ महामारीको नकारात्मक प्रभावकै बीच नेपाल सरकारले मानव बेचबिखन नियन्त्रणमा प्रगति हासिल गरेको यूएस मानव बेचबिखन प्रतिवेदन, २०२१ ले उल्लेख गरेको छ । उक्त प्रतिवेदनले नेपालले पालेर्मो आलेखको अनुमोदन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा संशोधन गर्ने कदमलगायत मानव बेचबिखनविरुद्ध निरन्तर रूपमा जनचेतना जगाउने काम गर्दै आएको उल्लेख गरेको छ ।
विशेष रूपमा सन् २०१५ को भूकम्प र अहिलेको कोभिड–१९ को महामारीबाट प्रभावित धेरै नेपाली बेचबिखनको जोखिममा रहेको प्रतिवेदनमा भनिएको छ । संयुक्त राष्ट्रसंघको मानव बेचबिखनविरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा शुक्रवार आयोजित वेबिनारमा यी चुनौतीको सामना गर्न मानव बेचबिखनमा परेकाहरूको सुदृढ संलग्नता र सहभागितामा जोड दिइएको छ ।
‘यस कार्यक्रमले स्थानीय सरकारले आफ्नो समुदायमा मानव बेचबिखन नियन्त्रणका लागि गरेका प्रयासलाई उजागर गर्ने मञ्चको रूपमा काम गरेको छ । नगरपालिका र प्रादेशिकस्तरमा मानव बेचबिखनमा परेका व्यक्तिको सञ्जाल, बेचबिखनमा परेका व्यक्तिसँग निजीक्षेत्रको संलग्नता र संघीय तहमा विभिन्न मन्त्रालय र सरकारी निकायको सहकार्य प्रेरणादायक छ,’ बेबिनार कार्यक्रममा यूएसएआईडी नेपालकी कार्यवाहक मिशन निर्देशक एड्रियाना हेइजले भनिन्, ‘यूएसएआईडी यी कार्यमा साझेदार भएकोमा म गर्व महसूस गर्दछु ।’
संकटले महिला र सीमान्तकृत समुदायमा असर परेको, कोभिड–१९ महामारीले त्यस्ता समूहलाई पहिलेभन्दा बढी जोखिममा पारेको भन्दै स्थानीय सरकार र सरोकारवालाहरूसँग काम गरेर ‘हाम्रो सम्मान परियोजना’ले मानव बेचबिखन नियन्त्रणमा पीडितहरूको नेतृत्व सुनिश्चित गरेको ब्रिटिश दूतावास काठमाडौंका विकास निर्देशक नथेइनी अलविभानको भनाइ थियो ।