राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अस्तित्वमा आएसँगै हाल नेपालको विद्यालयीय शिक्षाको पाठ्यक्रम परिवर्तन गरिएकोे छ । आधारभूत तह कक्षा (१–३) मा यसअघि प्रयोगमा आएको विधागत तथा विषयगत पाठ्यक्रमलाई बदलिँदो परिवेशअनुकूल बनाउन एकीकृत पाठ्यक्रम प्रयोगमा ल्याइएको छ । एकीकृत पाठ्यक्रमको अवधारणा नेपाली परिवेशमा नयाँ थालनी पनि हो । यससम्बन्धमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई अपेक्षित अभिमुखीकरण हुन नसक्दा यसको कार्यान्वयन पेचिलो बनेको देखिन्छ ।
नयाँ प्रारूपअनुसार कक्षा १ देखि १२ कक्षासम्मकै पाठ्यक्रम परिमार्जन गर्ने सन्दर्भमा शैक्षिक सत्र २०७७ मा कक्षा १ र ११ को र यस वर्ष कक्षा २, ३, ६ र १२ को पाठ्यक्रम परिवर्तन गरिएको छ । शैक्षिक सत्र २०८० सम्म विद्यालय तहमा परिवर्तित पाठ्यक्रम लागू गर्नेगरी बाँकी कक्षाका पाठ्यक्रम निर्माण, परीक्षण र प्रयोग हुने काम पनि भइरहेको छ । निजी विद्यालयको असन्तुष्टि र सरकारी निकायको कमजोर समन्वय तथा फितलो अनुगमनका कारण, परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा भने समस्या देखिएको छ ।