धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनीटिलर, टनेल, मल र बीउ वितरण गरेको छ । केन्द्रले मुख्य राजमार्ग लक्षित कार्यक्रमअन्तर्गत गुराँसे गाइपालन कृषक समूहलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र शतप्रतिशत अनुदानमा टनेल र बीउ वितरण गरेको हो । अनुदानबाट कृषक समूहका १० कृषक लाभान्वित भएका छन् । यस्तै केन्द्रले समूहका सदस्यलाई प्लाष्टिक टनेल, बीउ र मल शतप्रतिशत अनुदानमा वितरण गरेको छ । मुख्य राजमार्ग लक्षित कार्यक्रममा पर्ने सडक, विद्युतको पहूँच लगायत मापदण्डमा गुराँसे गाइपालन कृषक समूह छनौट भएको हो । खेती कार्यलाई यान्त्रिकरण गरी छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनीटिलर सहयोग गरिएको कृषि ज्ञान केन्द्रका कार्यालयका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।
मिनीटिलरका लागि ज्ञान केन्द्रले ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने किसानको ५ लाख रुपैयाँ लागत सहभागिता रहेको छ । ज्ञान केन्द्रले ७५ प्रतिशत अनुदान दिने र किसानको लागत सहभागिता २५ प्रतिशत हुनुपर्ने कार्यक्रम भएपनि सबै किसानलाई मिनीटिलर नआउने भएपछि समूहले ५० प्रतिशत योगदान गरेको कृषक समूहका अध्यक्ष भीम रानाले बताए । समूह रहेको स्थान तरकारीबालीका लागि उर्बर र गाइपालनका लागि प्रख्यात मानिन्छ । मिनीटिलर पाएपछि गोरु पाल्नलाई झन्झट र जोत्न ढिलो हुने समस्याबाट मुक्त हुने अपेक्षा रहेको अध्यक्ष रानाले बताए । ज्ञान केन्द्रले पाख्रिबास नगरपालिकाको लिसिम्बु, धनकुटा नगरपालिकाको बेलाहारामा पनि मिनीटिलर वितरणको गरिने जानकारी दिएको छ ।