यसमा त कुनै शंका रहेन कि हाम्रो देश पुराना नेताहरूकै नामका मार्गमा हिँडिराछ । जस्तै, काठमाडौं–धुलिखेल–सिन्धुली–बर्दिवास हुँदै देश बिपी राजमार्गमा हिँडिराछ । त्यस्तै, मदन भण्डारी राजमार्ग पूर्वमा झापा, बाहुनडाँगीबाट शुरू भएर धरान, चतरा, सिन्धुलीमाडी, हेटौंडा आदिमा हिँडिराछ । अनि पुष्पलाल मार्ग, जसलाई मध्यपहाडी राजमार्ग भनिन्थ्यो, चैं पूर्वदेखि पश्चिमसम्म फैलिने भनिएको थियो, अझै निर्माणाधीन नै छ क्यारे ! तर पुराना राजमार्गका नाम फेरेर नयाँ नाम राखे पनि हिँड्न भने धेरैजसो मान्छे अहिलेसम्म पनि त्यै पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ वा महेन्द्र राजमार्गमा नै धेरै हिँड्दा रेछन् ।
जनता जुन जुन मार्गमा हिँड्छन्, ऊ त्यै त्यै मार्गी हुने नै भयो । तर यसमा एउटा समस्या के आयो भने निश्चित नेताका नाममा निश्चित मार्ग मात्र छन् । तर यहाँ एउटा मार्गमा मात्र हिँडेर काम नचल्ने भएकाले होला, अपवादलाई छाडेर प्राय: मानिसहरू प्राय: सबै मार्गमा हिँड्दा रहेछन् । यसरी एउटै मान्छे सबै मार्गमा हिँडेपछि देशमा भद्रगोल त हुने नै भयो नि । हैन र ? यै भद्रगोल भएकाले होला प्राय: यी राजमार्गहरूमा यात्रामा निस्कने बेलामा ‘शुभयात्रा’ भन्ने गरिएको । यसको मतलव भगवान्ले तपाईंको यात्रा सफल पारून् भनेको हो ।
तपाईं सोध्नुहोला कि यति सानो यात्रामा यहाँ भगवान्लाई किन बीच्चमा लेराको भनेर । तर यसो सोच्नुस् त । तपाईंको यात्रामा भगवान् बाहेक अरू को छ र ? कसलाई भर गर्न सक्नुहुन्छ र ? बसलाई कि ट्रकलाई ? ड्राइभरलाई कि सडकलाई ? यात्रुलाई कि ट्राफिकलाई ? तपाईं अरू कसैमाथि भरोसा गर्न सक्नुहुन्छ र ? त्यसैले तपाईं केवल भगवान्कै भरोसामा मात्र यी मार्गहरूबाट गन्तव्यमा पुग्न सक्नुहुन्छ । देशै पशुपतिनाथले चलाइराछन्, तपाईंको यात्रा पनि उनैले चलाउने न हुन् ।
हो, नेपालमा सडक विभाग, यातायात विभागको काम त कर्म गर्ने हो, फलको चिन्ता उनीहरू कहिल्यै गर्दैनन् । बस, ट्रकका काम भनेको एक ठाउँबाट अर्को ठाममा जाने हो, यात्रीको जस्तोसुकै दशा किन नहोस् । यात्रुहरू सकुशल पुगून्, घाइते, जिउँदो वा मृत पुगून् यस्ता कुरा कसैको सरोकारका विषय होइनन् । नेपालका सवारीसाधन र राजमार्गका काम त यात्रुहरूलाई कतै पुर्याइदिनेसम्म मात्र हो । जसलाई त्यो मार्गमा जानु छ, ऊ त जान्छ नै । बस वा ट्रकका सिटमा बसेर जान्छ, उभिएर जान्छ, छतमा बसेर जान्छ वा झुन्डिएर जान्छ । यो यात्रुको स्वतन्त्रताको कुरा हो । जसको मनोबल, आत्मबल, शारीरिक बल र अर्को प्रकारको बल उच्च छ, उसलाई यी मार्गहरूमा यात्रा गर्नबाट कसैले रोक्न सक्तैन ।
वास्तवमा नेपालमा राजमार्ग र यातायात साधनहरूले हामीलाई जीवन जिउने कला सिकाउँछन् । जो चढ्न सक्यो, त्यो ठाउँ उसको हुन्छ । जो बस्यो, त्योे सिट उसको हुन्छ । जो जहाँ उभिन पायो, त्यो ठाउँ उसकै हुन्छ । यदि तपाईं यो सबै गर्न सक्नुहुन्छ भने तपाईं मन्त्रालय, प्रदेशकै, नभएर महानगरकै भए पनि ड्राइभरको सिटमा बस्न सक्नुहुन्छ ।
देशका राजमार्गमा चल्नेहरू र दलका मार्गमा चल्नेहरू को, कहाँ, कतिबेला कहाँ उक्लिन्छन्, ओर्लन्छन् वा फुत्त मोडिन्छन् भन्ने पत्तै हुन्न । राजमार्गमा यात्रा गर्नेहरू एकैचोटि अस्पतालमा वा श्मशानमा पनि पुग्न सक्छन् । त्यस्तै दल चलाउने र दलमा माथि माथि चढ्नेहरू पनि एकैचोटि मन्त्रालय, जेलमा वा जुलुसको भेलमा कहीँ पनि र कुनै बेला पनि र पुग्न वा पुर्याइन सक्छन् ।
जब यी राजमार्ग, यी यातायातका साधनहरू थिएनन्, यात्र कति कष्टप्रद हुन्थ्यो । आज राजमार्गहरू छन्, बसहरू छन्, यी बस चलाउने एक से एक ड्राइभरहरू पनि छन् । तर पनि यात्रा झन् झन् कठिन हुँदै गइरहेको छ । तर यो दु:खको नभई खुशीको कुरा हो । किनकि राजमार्ग थपिनु, मार्गका लम्बाइ चौडाइ थपिनु, यातायात थपिनु त प्रगतिकै कुरा हुन् नि । हामीले खोजेको नि यै हैन र ? जहाँसम्म मार्गको, यातायातको दु:ख र दुर्दशा छन्, ती हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहिरहनेछन् ।
वास्तवमा नेपाली राजमार्गहरूले चिन्तन संस्कृतिको विकासमा ठूलै योगदान दिएका छन् । नेपालका राजमार्गहरूले यो कुरा पनि सिकाउँछन् कि जस्तोसुकै होस्, ‘पहिले बनाऊ’ सडक बनाऊ वा दल । फुटपाथ पछि बनाउँदै गर । सडक चिह्नहरू सडक बनेको वर्षौंपछि राख्दै गरे हुन्छ । त्यसैगरी, पहिले दल बनाऊ, रैतीलाई दलदलमा फसाऊ र आफू एवं आफ्नालाई पोसाऊ, अनि समय रहे दलको दर्शन के हो सोच्न थाल । अर्थात् दलहरूका मार्ग र देशको राजमार्गहरूको गति र मति एउटै हुनुपर्छ र छन् पनि । त्यसैले त देशका राजमार्गमा चल्नेहरू र दलका मार्गमा चल्नेहरू को, कहाँ, कतिबेला कहाँ उक्लिन्छन्, ओर्लन्छन् वा फुत्त मोडिन्छन् भन्ने पत्तै हुन्न । राजमार्गमा यात्रा गर्नेहरू एकैचोटि अस्पतालमा वा श्मशानमा पनि पुग्न सक्छन् । त्यस्तै दल चलाउने र दलमा माथि माथि चढ्नेहरू पनि एकैचोटि मन्त्रालय, जेलमा वा जुलुसको भेलमा कहीँ पनि र कुनै बेला पनि र पुग्न वा पुर्याइन सक्छन् ।
अर्को कुरा, नेपालका राजमार्गमा यात्रा गर्ने यात्रुहरू अक्सर कि त विचारमा डुबिरहेका हुन्छन् कि त नदी वा खोलामा डुब्न पुग्छन् । यीभन्दा रामोसँग डुब्ने अरू कुन ठाउँ हुन सक्छन् र ? कहीँ पनि नडुबे सँगै बसेको यात्रुले कुरा शुरू गर्न सक्छ–
‘यो देशको भविष्य छ कि छैन, भन्नुस् न हजुर !’
अर्को यात्रुले जवाफ दिन्छ, ‘थाहा छैन । बरु तपाईं नै भन्नुस् न, यो बाटो र यो बसको चैं कुनै भविष्य छ कि छैन हँ ?’
देशमा दल, दलका मार्ग र राजमार्गहरू सबै बढिरहेकै छन् । त्यसमा यात्रा गर्नेहरू पनि बढी नै रहेका छन् । तिनै राजमार्गहरू हुँदै विदेशका मार्ग तताउनेहरू पनि उत्तिकै बढेका छन् । फरक फरक मार्ग हुँदै, फरक फरक गन्तव्यका लागि । कसले भन्छ देशको प्रगति भएन भनेर ? कसले भन्छ देशको अबको गन्तव्य कता हो वा कुन मार्ग जाने हो स्पष्ट छैन भनेर ? जबसम्म कुनै एक्सिडेन्ट हुँदैन, तबसम्म कसले भन्न सक्छ र मार्ग ठीक छैन भनेर ? त्यसैले ठूलै दुर्घटना नहुन्जेल बिपी, पुष्पलाल, पृथ्वी, महेन्द्र सबै सबै मार्गहरू ठीकै छन् त भनेर त्यसमाथि हिँडिरहनुको विकल्प तपाईं हामीसँग छ र ?