विराटनगर । संघीय स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरपालिकालाई पुरस्कृत गरेको छ । सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्दै मन्त्रालयले सरकारी संयन्त्रतर्फ पुरस्कार प्रदान गरेको हो ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गरेका थिए ।
‘सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै कानून कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,’ मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।
मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रूपमा समेत अध्ययन गरेको र महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले बताए । मेयर कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवनमा महानगरले रोक लगाएको उनले बताए । स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कारको श्रेय उनले विराटनगरवासीलाई दिएका छन् ।
मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको विक्रीका लागि लिएका अनुमतिपत्र नवीकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिए । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र विक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्र नभई मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताए ।