काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावलगायतको असर देशको वैदेशिक व्यापारमा समेत देखिन थालेको छ ।
बैंकहरूले व्यापारीको मागअनुसार कर्जा प्रवाह गर्न नसक्नु र विलासी सामानहरूको आयातमा कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति कारण चालू आर्थिक वर्ष (आव) को माघ महीनामा आयात निर्यात दुवै व्यापार खुम्चिएको छ । माघ महीनामा आयात पौने १३ अर्ब रुपैयाँले घट्दा निर्यात ३ अर्ब रुपैयाँले घटेको भन्सार विभागले जानकारी दिएको छ ।
भन्सार विभागले मंगलवार प्रकाशित गरेको तथ्यांकअनुसार माघ महीनामा देशमा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको छ । पुसमा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो ।
उच्च आयातका कारण देशको शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्रा सञ्चितिसमेत कम हुँदै जान थालेपछि राष्ट्र बैंकले विलासी सामानहरूको आयातमा कडाइ गर्न थालेको थियो । आयातमा कडाइ गर्न राष्ट्र बैंकले पुस पहिलो सातादेखि चाँदी, फलाम र प्लास्टिकका फर्निचर, भान्साकोठाका सामग्री, शृंगारका सामग्री, जुत्ताटोपी, छाता, कृत्रिम फूल, चललेक, चुइँगमलगायत सामान आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यसैगरी गाडी आयातमा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था कार्यान्वयन गरेको छ । नगद मार्जिनका लागि बैंकहरूले कर्जा दिन नपाउने व्यवस्थासमेत गरेको छ ।
नगद मार्जिनको प्रावधानका कारण आयात घट्न थालेको तथ्यांकमा देखिएको छ । चालू आवको साउनमा १ खर्ब ५० अर्बको आयात भएकोमा क्रमशः बढ्दै मङ्सिर महीनामा १ खर्ब ८८ अर्बको आयात भएको थियो । राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेसँगै पुसबाटै आयात घट्न थालेको हो ।
राष्ट्र बैंकले माघ अन्तिम सातादेखि सी फूड, धूलो दूध, सुपारी, केरा, छोकडा, मरीच, सुनका गरगहना, विद्युतीय घडी, रेडिमेड गार्मेन्ट कुर्सीलगायत अन्य वस्तुको आयातमा समेत कडाइ गरेको छ ।
नगद मार्जिनको व्यवस्थाबाहेक बैंकमा देखिएको तरलता अभावको प्रभावसमेत वैदेशिक व्यापारमा परेको हो । तरलता अभावका कारण पुसयता बैंकहरूको कर्जा प्रभाव खुम्चिएपछि वैदेशिक व्यापारमा समेत असर परेको हो ।
माघमा आयातसँगै निर्यात पनि खुम्चिएको छ । पुस महीनामा १५ अर्ब ९३ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा माघ महीनामा १२ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।
वैदेशिक व्यापार घटेसँगै भन्सार असुलीसमेत घटेको छ । पुसमा भन्सार कार्यालयहरूले ४० अर्ब २७ करोड रुपैयाँ भन्सार संकलन गरेकोमा माघमा ३६ अर्ब ७ करोड मात्र संकलन भएको छ ।
निर्यातको तुलनामा आयात उच्च भएपछि व्यापारघाटा वृद्धि भइरहेको छ । चालू आवको माघसम्ममा व्यापारघाटा ३८ दशमलव ४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आवको ७ महीनामा व्यापारघाटा ७ खर्ब ३३ अर्ब रहेको थियो ।
माघसम्ममा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।