काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा बुधवार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरू काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।
२०७५ माघदेखि संसद्मा विचाराधीन रहेको निजामती सेवा विधेयक छिट्टै पारित गर्नेगरी काम अघि बढाइएको उनको भनाइ छ । ‘विधेयकमा मन्त्रालयको दृष्टिकोण दिइसकेका छौं, कर्मचारी प्रशासन अब तहगत प्रणालीमा चल्ने भएको छ, कर्मचारी ६० वर्षे उमेर हदसम्म सेवामा बहाल रहने भएका छन्,’ उनले भने । दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको उनको भनाइ छ ।
देशभरका २०० भन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भई आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी उनले दिए । निजामती अस्पतालमा सुधार गर्ने विषयलाई पनि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । रासस