मोहनविक्रम सिंह
चौथो महाधिवेशनको आलोचना गर्दै झापाली गुट लेख्दछ : “यो गद्दार गुट गद्दार मनमोहन गुटको स्थान ओगटेर सिर्फ विनाशको उपकथा बन्नका लागि राजनीतिक रङ्गमञ्चमा उभिएको छ ।” (व.सं. अङ्क १, पृ. ४०)
शम्भुरामले हाम्रा विषयमा भविष्यवाणी गर्दै भनेका थिए : उनीहरूको अस्तित्व ३ महिनाभित्र खतम हुनेछ । तर त्यसपछि ४ वर्षको लामो समय बितिसकेको छ । चौथो महाधिवेशनलाई “समीक्षा”ले अन्तिम दीपशिखा भनेको थियो । पुष्पलाल गुटले घोषणा गर्यो : “के. न्यू. तासको घर झैँ भत्कन थाल्यो” (नयाँ जनवाद, माघ २, २०३१)
त्योभन्दा धेरै पहिले शम्भुरामले भविष्यवाणी गरेका थिए : “के.न्यू, ३ महिनाभन्दा बढी रहने छैन ।” अब उग्र“वामपन्थी”हरूले हाम्रो पार्टी र आन्दोलनलाई “सिर्फ विनाशको उपकथा” बताएका छन् ।
यसरी स्पष्ट छ कि हाम्रो अन्तय र विनाशको भविष्यवाणी गर्नेबारे दक्षिणपन्थीहरूमा सधैँ होडबाजी चल्दै आएको छ र अब झापाली गुट पनि त्यसमा सामेल भएको छ । तर यस प्रकारका भविष्यवाणीहरूले हाम्रो अन्त्य हुँदैन । खालि एउटै अवस्थामा नै हाम्रो अन्त्य हुन सक्दछ, त्यो अवस्था हो : हाम्रो क्रान्तिकारी चरित्रको ह्रास । जबसम्म हामी आफ्नो क्रान्तिकारी चरित्रप्रति इमान्दार, सच्चा र दृढ रहन्छौँ, दुनियाँको कुनै शक्तिले हामीलाई खतम पार्न सक्दैन । हाम्रो विरुद्धको भविष्यवाणीहरू गलत साबित हुँदै गए, किन ? किनभने उनीहरूमा त्यस प्रकारका भविष्यवाणीहरू हाम्रो चरित्रका सही अध्ययन र विश्लेषणमाथि आधारित थिएनन् । अब उनीहरूले के चाहन्छन् ? दक्षिणपन्थी र “वामपन्थी” अवसरवादीहरूका बिचमा जुनसुकै प्रकारले अन्तर किन नहोस् । तर उनीहरूका भविष्यवाणीबाट प्रस्ट हुन्छ कि उनीहरू यसबारे एकमत छन् : दुवैथरीले हाम्रो अन्त्य चाहन्छन् ।
आफ्ना मुखपत्रहरूमा उनीहरूले हामीलाई “संशोधनवादी गुट”, “क्रान्तिका शत्रु”, “प्रतिक्रान्तिकारी पार्टी”, “अन्तर्राष्ट्रिय केन्द्र सोभियत संशोधनवादलाई मानेर काम गर्ने तत्व”, “नेपालमा क्रान्तिलाई खतम पार्ने साम्राज्यवादी योजनाकै सहयोगी”, “अमेरिकी साम्राज्यवादकै मद्दतगार” आदि बताएका छन् । तर यो राजनीतिक आलोचना होइन । गालीगलौज हो । उनीहरूले राजा र काङ्ग्रेससम्मलाई एउटालाई अमेरिकी साम्राज्यवाद र अर्कालाई सोभियत सामाजिक साम्राज्यवादका दलाल बताएका छन् । उनीहरूले राजाका क्याम्पमा हुनेहरूलाई अमेरिकी, ...