चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दाको वर्षौंदेखिएको सास्ती हटेको छ । पुस्तौंदेखि खानेपानी जोहो गर्न घन्टौं टाढा पुग्नुपर्ने सो गाउँका स्थानीय घरघरमा धारा पुगेपछि खुसी भएका छन् । ढुंग्रे गाउँ र आसपासका बासिन्दाले पुस्तौंदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका विश्वनाथ गुरुङले पुस्तौंदेखि खानेपानीको समस्या हल भएकामा स्थानीय सरकारलाई धन्यवाद दिए ।
पुस्तौंदेखि घन्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दा स्थानीय सरकारले घरघरमा धारा ल्याइदिएपछि खुसी भएको उनले बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको कामै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।
गुरुङले भने, ‘एक गाग्री पानी लिन घन्टौं लगाएर धाउनुपर्ने बाध्यता हटेको छ । एक जनाको कामै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो । पानीको धारा घर–घरका आँगनमै आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षांैदेखि पहल गरिरहे पनि स्थानीय सरकार आएपछि माग पूरा भएको उनको भनाइ छ ।
गाउँमा खानेपानी अभाव हटेपछि समयको बचत हुँदा मेलापात र घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीय बताउँछन् । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेप खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेका छन् । सो आयोजनाबाट ५१६ जनसंख्या लाभान्वित भएका छन् ।
आयोजना ८९ लाख ८२ हजार २९६ रुपैयाँ लागतमा सम्पन्न भएको हो । गाउँपालिकाको ७८ लाख ६४ हजार, स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एक घर एक धारा अभियानलाई तीव्र पारेको बताइन् । गत वर्ष मात्र मोटर बाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि तरकारी खेती गर्नसमेत स्थानीयलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।
गाउँ–गाउँमा मोटर बाटो र पानी धारा पुगेसँगै तरकारी खेतीतर्फ स्थानीयलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेषगरी तरकारी तथा फलफूल खेतीका लागि उर्बर मानिन्छ । रासस