काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २ करोड १ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ३ करोड ८३ लाख पुगेको छ ।
गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी र अन्य आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ९ करोड ४२ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. १० करोड ५ लाख पुगेको छ । त्यस्तै कम्पनीले अन्य स्रोतमार्फत रू. २० लाख ६० हजार आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ३३ करोड ५९ लाख छ । कम्पनीले जगेडामा रू. ४ करोड २७ लाख सञ्चिति गरेको छ । गत आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३० पैसा (वार्षिक) रहेकोमा गत आवमा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३ दशमलव ०६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ७२ छ ।