काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको मालपोत र नापी कार्यालयलाई सूचना प्रविधियुक्त बनाउँदै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रूपान्तरणको उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भू–सेवा केन्द्र सबै कार्यालयमा विस्तार गर्ने लक्ष्य रहेको बताए ।
‘नापी विभाग र कार्यालयको कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन्,’ उनले भने, ‘मालपोत कार्यालयका १ करोडभन्दा बढी कागजी अभिलेखलाई यथाशीघ्र विद्युतीय अभिलेखमा रूपान्तरण गर्ने काम बजेट अभावले चुनौतीपूर्ण छ ।’ चालू आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासन सेवा प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ ।
नेपालमा प्राचीनकालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन रहिआएको छ । माल अड््डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको शुरुआत भने १९७९ वैशाख १ गतेदेखि शुरू भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । १९९६ सालमा काठमाडौंमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो ।
मन्त्रालयका सचिव रेग्मीका अनुसार हाल मुलुकमा २१ भूमि सुधार र ११० मालपोत कार्यालय छन् । मुलुकमा १३१ नापी कार्यालय र सातओटा विशेष नापी कार्यालय छन् । रासस