दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए । नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रू. ६ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावले भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताए ।
‘बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन,’ उनले भने । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करवीर जोशीले बताए ।
विसं २०४० मा स्थापनमा भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ । हाल यहाँ दुई सय १५ विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण अधुरै रहेकाले कोठा अपुग भएपछि हाल एउटै कोठामा दुईओटा कक्षाको पठनपाठन गर्नुपरेको प्रधानाध्यापक जोशीले बताए । स्थानीय तहसँग बजेटका लागि पटक पटक माग गर्दा पनि बजेट उपलब्ध हुन नसकेको उनको भनाइ छ । रासस