प्रधानमन्त्री केपी शर्मा ओली जुन वेगमा मुलुकलाई अगाडि बढाउन चाहिरहनुभएको थियो, पार्टीभित्रैबाट प्रतिपक्षको जस्तै बखेडाले उहाँका योजना र कार्यक्रमहरू समयमै पूरा हुनेमा दिनप्रतिदिन चुनौती थपिन थालेका छन् । आउँदो आमनिर्वाचनको समयावधिलाई प्रधानमन्त्रीको कार्यकालबाट हटाउने हो भने उहाँको दुईतिहाइ समय सकिँदै छ ।
संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीको कार्यकालमा ‘स्वप्नदर्शी’को उपमा पाउनुभएका केपी ओलीले दोस्रो कार्यकालको मध्यान्तर पार गरिसक्नुभयो । यद्यपि, उहाँ जति समय शासनमा रहनुभयो त्यो नेपालको राजनीतिक इतिहासको विरलै नेतालाई प्राप्त हुने अवसर हो । तथापि, बाह्य र आन्तरिक चुनौतीहरूलाई आफ्नो कार्यकालको पहिलो दिनदेखि नै पर्गेल्दै र छिमल्दै अगाडि बढ्नुभएको छ ।
प्रधानमन्त्री ओलीको कार्यकालको सुरुको दुई वर्ष नेपालको आर्थिक विकासदर करिब ८ प्रतिशतमा पुगेको थियो । यो राष्ट्रिय वृद्धिदर दक्षिण एसियामा बङ्गलादेशपछिको हो । भारतभन्दा पनि नेपाल अगाडि देखिएको थियो तर कोभिड–१९ अर्थात् कोरोना भाइरससँगै नेपालमा आर्थिक वृद्धिदर ओह्रालो लागेको छ । यो विश्वव्यापी महामारीले सरकारलाई यसैमा इङ्गेज (अल्झाएको) गराएकोमात्र छैन कि मुलुकको मेरुदण्डमा प्रहार गरेको छ । जनजीवनलाई अस्तव्यस्त पारिरहेको छ । यस्तो अवस्थामा पनि आफ्नै पार्टी नेतृत्वका सहकर्मीहरूको व्यवस्थापनमा देखिएको चुनौतीले सरकारले जुन गति लिनुपर्ने हो, त्यो गति लिन सकेको छैन ।