चैत १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये जनरल इन्स्योरेन्स कम्पनी,सानिमा जनरल इन्स्योरेन्स,जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेड र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
उक्त अवधिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू.६६० दशमलव १०,सानिमा जनरल इन्स्योरेन्सको रू.६६०,जीबन विकास लघुवित्तको रू.३ हजार ३००, इमर्जिङ्ग नेपालको रू. ८३६ दशमलव ७० र नेपाल राष्ट्र उत्थान लघुवित्तको रू.९०१ दशमलव ४० पुगेको हो ।
ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यसैगरी बीमा कम्पनीलाई बीमा समितिले पूँजी वृद्धि गर्न निर्देशन दिएसँगै खरीदकर्ता आकर्षित भएका हुन् ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ११ अंक घटेर २ हजार ५९४ दशमलव ५६ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू.२ अर्ब ७६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।