काठमाडौं । थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ । थप तीन हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २१ लाख १७ हजार ५० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ६० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १३१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ६०४ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय थपिएका कोरोना संक्रमितमा इलाममा एक, उदयपुरमा दुई, धनकुटामा एक, मोरङमा तीन, रौतहटमा एक, काठमाडौँमा ४७, भक्तपुरमा दुई, मकवानपुरमा एक र ललितपुरमा १२ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसैगरी कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं सुर्खेतमा एक÷एक जना सङ्क्रमित थपिएका छन् ।
शून्य मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५४ पुगेको छ । यसअघि माघ १६ गते तथा गत साउन ४ र ५ गते तथा साउन ८ गते कोरोनाबाट कोहीको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।