मंसिर ११, काठमाडौं । आईपीओ निष्कासन गर्ने तयारीमा रहेका पाँच ओटा लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा कुल रू. ९ करोड ५४ लाख ३४ हजार नाफा कमाएका छन् ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ७९ प्रतिशत घटेको हो । गत आवको पहिलो त्रैमासमा पाँच ओटा कम्पनीले कुल रू. ११ करोड ७ लाख १२ हजार नाफा कमाएका थिए । आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका कम्पनीमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भने चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण हालसम्म सार्वजनिक गरेको छैन ।
वित्तीय विवरण सार्वजनिक गरेको पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले रू. ५ करोड ७ लाख २८ हजार नाफा कमाएको हो । त्यसैगरी दोस्रोमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले रू. २ करोड ७३ लाख भन्दा बढी नाफा कमाएको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका पाँच ओटा कम्पनीमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको ८१७ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड २५ लाख पुगेको हो । आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको छ । यस कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, दोस्रोमा नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्नका लागि यी ६ ओटै लघुवित्त कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि निष्कासन गर्नेछन् ।
स्रोत : कम्पनीद्वारा प्रकाशित पहिलो त्रैमासिक वित्तीय विवरण र नेपाल धितोपत्र बोर्ड