काठमाडौं । नापी कार्यालय मनमैजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्की विरुद्ध अख्तियारले मुद्दा चलाएको छ ।
नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरुलाई १ लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय, मनमैंजुका नापी सर्भेक्षक रमेश उपरकोटीले जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने प्रयोजनको लागी सेवाग्राहीसँग १ लाख ७५ हजार रुपैयाँ घुस मागेको र घुस रकम लेखापढी व्यवसायी अविशेक कार्कीमार्फत लिएको पुष्टि भएपछि बिगो दाबी गर्दै मुद्दा चलाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज रमेश उपरकोटीलाई विगो १ लाख ७५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुनुपर्ने दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो ।
त्यस्तै प्रतिवादी अविशेक कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (2) वमोजिमको कसुरमा बिगो रु.1,75,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।