पटक पटक नयाँ भेरियन्टका रूपमा दोहोरिइरहेको कोरोनाको लहरले यस पटक पनि विद्यालय शिक्षामा नराम्रो प्रभाव पा-यो । सरकारी निर्देशनअनुसार सबै किसिमका परीक्षा तथा भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द छन् । सुरुमा माघ १५ सम्म भनिए पनि घना बस्ती भएका क्षेत्रमा यस शैक्षिक सत्रका बाँकी दिन पनि अस्तव्यस्त नै हुने सङ्केत देखापरेका छन् । वैकल्पिक स्रोतसाधनको सुनिश्चितता नभएको तथा जसरी पनि विद्यार्थीलाई सिकाइ क्रियाकलापमा जोड्नुपर्छ भन्ने विषयमा विद्यालय तथा शिक्षक दृढ नभएका कारण विगत दुई वर्षको पढाइ लथालिङ्ग भयो ।