जेठ ७, सिन्धुपाल्चोक । गत वैसाख ३० गते भएको स्थानीय निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको १२ ओटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचनबाट प्रत्यक्ष रुपमा सिन्धुपाल्चोकमा ५३९ सदस्यीय जनप्रतिनिधि निर्वाचित भएका छन् । उनीहरुले अधिकार सम्पन्न स्थानीय सरकार चलाउने छन् । तीन ओटा नगरपालिका र नौ ओटा गाउँपालिकासहितको जिल्लाका १२ ओटा स्थानीय तहमा १०३ ओटा वडा छन् ।
चौतारा साँगाचोकगढी, बाह्रविसे र मेलम्ची नगरपालिकामा ३६ ओटा वडा छन् । गाउँपालिकामा ६७ ओटा वडा रहेका छन् । स्थानीय तह निर्वाचनले १२ जना प्रमुख/ उपप्रमुख, अध्यक्ष/ उपाध्यक्ष, १०३ जना वडा अध्यक्ष, १०३ महिला सदस्य, १०३ दलित सदस्य र २०६ खुला सदस्य निर्वाचित गरेको छ ।
नगरपालिकातर्फ तीन नगर प्रमुख, तीन उपप्रमुख, ३६ वडाध्यक्ष, ३६ महिला सदस्य, ३६ दलित महिला सदस्य र ७२ खुला सदस्य गरी १८६ सदस्य जनप्रतिनिधिका रुपमा नगरवासीद्वारा निर्वाचित भएका छन् ।
गाउँपालिकातर्फ नौ अध्यक्ष, नौ उपाध्यक्ष, ६७ वडाअध्यक्ष, ६७ महिला सदस्य, ६७ दलित महिला सदस्य र १३४ खुला सदस्यसमेत ३५३ सदस्य जनप्रतिनिधि निर्वाचित भएका छन् ।
सबैभन्दा बढी १४ ओटा वडा रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा ७२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । सबैभन्दा कम पाँचवटा वडा रहेको भोटेकोसी गाउँपालिकामा २६ जना जनप्रतिनिधि निर्वाचित भए । त्यस्तै गाउँपालिकातर्फ सबैभन्दा बढी १२ ओटा वडा रहेको इन्द्रावती गाउँपालिकामा ६२ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ ले नगरपालिकामा एक प्रमुख, एक उपप्रमुख, प्रत्येक वडामा एकवडाध्यक्ष, एक÷एक दलित, महिला दलित सदस्य र दुई खुला सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ ।
यसरी निर्वाचित हुने नगरसभाले दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य निर्वाचित गर्ने छ । त्यस्तै गाउँपालिकामा एक÷एक अध्यक्ष, उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडाध्यक्ष, एक÷एक दलित, महिला दलित सदस्य र दुई खुला सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ ।
निर्वाचित भएर आएका जनप्रतिनिधिले गाउँसभाबाट गाउँपालिकाभित्रका मतदाताबाट दुईजना दलित वा अल्पसंख्यकलाई सदस्य निर्वाचित गर्नेछ । गाउँ तथा नगरसभाले सिन्धुपाल्चोकमा दलित/ अल्पसंख्यकबाट २७ जनालाई निर्वाचित गर्ने छ ।
निर्वाचनबाट ठूलो संख्यामा महिला, दलित र अल्पसंख्यक समुदाय स्थानीय सरकारमा पुग्नेछन् । ऐनको व्यवस्था अनुसार सिन्धुपाल्चोकमा जनप्रतिनिधिको संख्या ५६६ पुग्ने छ ।
तीन नगरपालिकाका नगरसभामा निर्वाचितमध्ये ६६ जना नगरकार्यकारी हुनेछन् । त्यस्तै गाउँ कार्यकारीमा १२५ सदस्य चयन हुनेछन् । दुबै जोड्दा हुने १९१ जनप्रतिनिधिले स्थानीय सरकार चलाउने छन् ।