तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउन मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गतवर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिममा परेको थियो । अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–३ मादी किनारमा दुई सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिए । व्यास–३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो । चालू आर्थिक वर्ष २०७९–८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्नेगरी एमआर गु्रप चितवनले गतवर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले दुई करोड ५० लाख विनियोजन गरेपछि निर्माण थालिएको हो । ‘निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ,’ प्रमुख शर्माले भने । उनका अनुसार हालसम्म रू. २० लाख मात्रै भुक्तानी भएको छ । रासस