म्याग्दी । खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरू आधार शिविरमा पुगेर रोकिएका छन् । ८२ वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका ८ हजार मिटर अग्ला १२ ओटा हिमालको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको २२ वर्षको समयावधिमा आरोहण गरेको बताइएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस २ दशकयता ११औं पटक आरोहण गर्दा पनि धवलागिरिको शिखरमा पुग्न सकेका छैनन् ।
यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही गत भदौ २८ गते म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प पुगेका थिए । धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पु¥याइएको थियो । रासस