बागलुङ । कृषि तथा पशुजन्य उत्पादन वृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनुपूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्यालाई गाउँपालिकाको बजेट तथा कार्यक्रमले नसमेटेको गुनासो आएपछि किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
बरेङले योजना निर्माण पूर्व व्यावसायिक किसानसँग छलफल थालेको यो पहिलो पटक हो । ‘हामीले कृषि क्षेत्रमा धेरै लगानी गरिरहेका छौं, त्यसको प्रगति अध्ययनसहित किसान सन्तुष्ट छन् कि छैनन् भनेर खोजी गर्न विज्ञसहितको छलफल थालेका हौं,’ अध्यक्ष शर्माले भने, ‘हामीले कल्पना गरेका भन्दा फरक समस्या र चुनौती किसानले राख्नुभएको छ, अब योजना निर्माण गर्दा समस्याको समाधान गर्नेगरी काम गर्छौं ।’
किसानको आवश्यकता एकातिर र पालिकका योजना अर्कोतिर हुने गरेको उनले बताए । पालिकाले सोमवार ६३ जना व्यावसायिक किसानलाई भेला गरेर कृषि विज्ञसँग छलफल गराएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ, चितवन र ललितपुरमा कार्यरत कृषिविज्ञ सुजित पौडेल, नारायण पौडेल, दीपक शर्मा, इन्द्र ढुंगाना र माधव पौडेलसँग किसानले छलफल गरेका थिए ।
किसानले उत्पादनमा एकरूपता नभएको, बजारीकरणमा समस्या देखिएको, उत्पादन समयमा बजार पुर्याउन नसक्दा लागत बढेको जस्ता समस्या सुनाएका थिए । ‘हामीले उत्पादन गरेका बंगुरले बजार पाउँदैनन्, बाहिरबाट आएको मासुले मूल्य घटाइदिन्छ,’ किसान सन्त श्रीषले भने, ‘थोरै उत्पादन बजार नपुग्ने, एउटै किसानले धेरै उत्पादन गर्न नसक्ने समस्या छ ।’ किसानले एकीकृत खेती प्रणाली, सामूहिक लगानी र उत्पादन तथा बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
सोही क्रममा कृषिउपजको बजारीकरण सहज बनाउन सन्त श्रीषको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । किसानले कृषिउपज संकलन केन्द्र, बजारीकरण र उत्पादन लागतमा सहयोग गर्न पालिकालाई आग्रह गरेका थिए । रासस