काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र आजदेखि विक्री खुला भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री खुला गरेको हो ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ ।
विक्री अवधि छिटोमा कात्तिक १२ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १६ गतेसम्म विक्री लम्बिनेछ ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सकिनेछ ।
ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।