काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ । आइतवार बसेको निगमको बोर्ड बैठकले स्वचालित मूल्यसम्बन्धी कार्यविधि २०८० पास गरेको हो । अब निगमले खाना पकाउने एलपी ग्यासमा मुनाफा राख्ने छैन । डिजेल २ प्रतिशत र पेट्रोल २ दशमलव ५ प्रतिशत नाफा राखेर विक्री गर्ने बोर्डले निर्णय गरेको निगमले जानकारी दिएको छ ।
अहिले भारतबाट मूल्य घटेर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको छ । आइतवार मध्यरातिदेखि काठमाडौंमा पेट्रोल लिटरको १६४ रुपैयाँमा पाइनेछ । तराई र भित्री मधेशका जिल्लामा भने पेट्रोल लिटरको क्रमश: १६१ रुपैयाँ ५० पैसा र १६३ रुपैयाँ पर्नेछ ।
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार काठमाडौंमा एक लिटर डिजेल/मट्टीतेल १४६ रुपैयाँमा पाइनेछ । तराईका जिल्लाहरूमा यी दुवै इन्धन लिटरको १४३ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रुपैयाँमा पाइनेछ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिलिलिन्डर १० रुपैयाँ घटाएर १ हजार ७९० रुपैयाँ कायम
गरिएको छ ।
निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीका अनुसार स्वचालित मूल्यप्रणाली लागू भएपछि परल मूल्य बढ्दा विक्री मूल्य बढ्छ, घट्दा घट्छ । हवाई इन्धनको मूल्य भने स्वचालित नहुने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । उनका अनुसार हवाई इन्धनको मूल्य निगम सञ्चालक समितिले तोकेअनुसार हुनेछ ।
निगमका अनुसार अब भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३ रुपैयाँ २७ पैसा सस्तो पर्नेछ । मट्टीतेल र डिजेल प्रतिलिटर ९ रुपैयाँ ९४ पैसा सस्तो पर्नेछ ।