विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाउने क्रममा मदिरा आयात रोकेको थियो । तर, अहिले प्रतिबन्ध खुला गरिएसँगै ४ महीनामा ४ लाख ६८ हजारभन्दा बढी लिटर मदिरा आयात भएको छ । यसका लागि झन्डै ८० करोड रुपैयाँ विदेशिएको छ । सरकारले जति नै प्रतिबन्ध लगाए पनि मदिराको उपभोग घटेको कुनै आधार भने फेला पर्दैन । यसरी विदेशी मदिरा आयात भइरहँदा स्थानीय मदिरामा भने सरकारको वक्रदृष्टि परेको पाइन्छ ।
नेपालमा दर्ता भएका मदिरा उद्योगमा १ खर्ब जति लगानी भएको मानिन्छ । त्यस्तै मदिरा वितरक र थोक तथा खुद्रा व्यापारको लाइसेन्स पाएकालाई सदस्य मान्दा झन्डै ३ लाखजति मानिस मदिरा व्यवसायमा आश्रित रहेको अनुमान गर्न सकिन्छ । तर, नेपालको स्वदेशी घरेलु उत्पादन मदिराका बारेमा भने सरकारसँग न कुनै तथ्यांक छ न त यसलाई प्रोत्साहित गर्ने नीति नै । एकाध व्यक्तिले नेपालको कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने बताए पनि त्यसतर्फ काम भएको छैन । नेपाली रक्सी गुणस्तर र स्वादमा राम्रो भएको बताइन्छ । तर, सरकारले यसलाई प्रोत्साहन गर्न छाडेर अवैध भनी जफत गर्ने र खाल्डोमा हाल्ने गरेको छ ।
जथाभावी बनाइएका रक्सी बजारमा पाइन्छन् जसको सेवनले कसैकसैको ज्यानसमेत गएको देखिन्छ । यो नियमनको कमजोरीले भएको हो । तैपनि नेपालको घरेलु रक्सी उत्पादनको आफ्नै प्रविधि छ र त्यसबाट उत्पादित रक्सी स्तरीय छ पनि भनिन्छ । यसलाई सरकारले अध्ययन गरेर तथा मापदण्ड बनाएर गुणस्तर प्रमाणपत्र दिनुपर्छ । तिनलाई बोतलबन्द गरी विक्री गर्न प्रोत्साहन गर्नु जरुरी छ । तर, नेपालमै भने यस्तो मदिरा निषेधित छ जुन गलत छ । यसलाई नियमन गरी ब्रान्डिङ गर्न सके अर्थतन्त्रमा राम्रै योगदान गर्न सक्छ ।