भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताउनुभयो । चालू …
चितवन । जिल्लाका सातओटा पालिकाहरू चालू आर्थिक वर्ष (आव) ०७९/८० मा आन्तरिक राजस्व संकलनको लक्ष्यमा पुग्न असफल हुने देखिएका छन् । कोरोना कहरपछि आएको आर्थिक मन्दीका कारण चालू आवमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको स्थानीय पालिकाहरूले जानकारी दिएका छन् ।
भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा १ अर्ब ५० करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको जेठ ३० गतेसम्म महानगरपालिकाले ९६ करोड ५८ लाखमात्रै राजस्व संकलन गरेको छ । यस राजस्वमा घरजग्गा रजिष्टे«शन शुल्कलगायत सबै जोडिएको छ ।
महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले महानगरपालिकाले आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य राखेको भए पनि लक्ष्य अनुसार राजस्व असुली नभएको बताए ।
‘घरजग्गा कारोबार नहुनु, उद्योग व्यवसायहरू आर्थिक मन्दीको मारमा पर्नु, पूँजीगत खर्च कम हुनुलगायतका विविध कारणले राजस्व संकलनको लक्ष्यमा पुग्न सकेनौं । तर, भरतपुर महानगरपालिका लक्ष्यको नजिक पुग्न कोशिश गर्नेछ,’ अर्यालले भने ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १ अर्ब ७५ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ ।
रकम अभावका कारण योजनाहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिएपछि भरतपुर महानगरले गत माघ अन्तिममा पूरक बजेट ल्याएको थियो । तर पनि राजस्व संकलन बढ्न सकेन ।
महानगरले १२औं नगरसभामार्फत २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको थियो । महानगरले पूरक बजेट ल्याएसँगै भरतपुर महानगरको चालू आवको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, रत्ननगर नगरपालिकाले आन्तरिक लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले चालू आव २०७९÷८० का लागि ११ करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको बताए । ‘जेठ अन्तिमसम्म ९ करोड ५० लाख राजस्व आन्तरिकरूपमा संकलन भएको छ । तर, लक्ष्य अनुसार राजस्व संकलन गर्न गाह्रै छ,’ सुवेदीले भने ।
यस राजस्वमा पनि घरजग्गा रजिष्ट्रेशन शुल्क जोडिएको छैन । उनका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा रत्ननगर नगरपालिकाले ९ करोड ८१ लाख राजस्व संकलन गरेको थियो ।
देशमा आर्थिक मन्दी छाउनु, व्यापार व्यवसाय तथा उद्योगहरू फस्टाउन नसक्नु लगायतका कारणले आन्तरिक राजस्व संकलन कमजोर भएको उनले बताए ।
उनले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको बताए ।
यसैगरी, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले चालू आर्थिक वर्षका लागि १५ करोड ८० लाख ७० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको बताए । जेठ अन्तिमसम्म घरजग्गा रजिस्टे«शन शुल्कसमेत गरी १२ करोड ५२ लाख ८८ हजार राजस्व संकलन भएको छ । ‘लक्ष्यनजिक त खैरहनी नगरपालिका पुग्छ । तर, लक्ष्य भेटाउन मुस्किल छ,’ उनले भने ।
यस्तै, कालिका नगरपालिका पनि आन्तरिक राजस्व संकलनको लक्ष्यमा पुग्न सक्ने अवस्था देखिँदैन । कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले पाँच करोड ४० लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य लिएको बताए । ‘जेठ महीनासम्म ४ करोड ९२ लाख राजस्व संकलन भएकोमा असार महीनामा उठेको राजस्व जोड्दा लक्ष्यको नजिक पुग्छौं भन्ने आशा छ,’ उनले भने । उनले हालको राजस्व संकलनमा घरजग्गा रजिष्ट्रेशन जोडिएको बताए ।
यसैगरी, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले लक्ष्यभन्दा निकै कम आन्तरिक राजस्व संकलन भएको बताए । नगरपालिकालाले १३ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिए पनि ९ करोड आन्तरिक राजस्व संकलन भएको उनको भनाइ छ । आन्तरिक विवादका कारण नगरपालिकाको आन्तरिक राजस्व संकलन लक्ष्यमा पुग्न नसक्ने देखिएको छ ।
यस्तै इच्छाकामना गाउँपालिकाको आन्तरिक राजस्व संकलनले पनि लक्ष्य भेटाउन सकेको छैन । इच्छाकामनाका लेखा अधिकृत उद्गम तिमिल्सिनाले चालू आवको लक्ष्य ७ करोड ६० लाख ३६ हजार ६१२ रहेको बताए । जेठको अन्तिमसम्म २ करोड ३५ लाख ४६ हजार ९० रुपैयाँ मात्र संकलन भएको छ । उनका अनुसार उक्त राजस्व संकलनमा घरजग्गा रजिष्टे«शन, भ्याट, अन्तःशुल्क, रोयल्टी जोडिएको छैन, जसका कारण लक्ष्य र संकलनमा धेरै अन्तर देखिएको छ ।
चितवन । भरतपुर महानगरपालिकाले पूरक बजेट ल्याएको छ । १२औं नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको हो । शुक्रवार पूरक बजेट प्रस्तुत गर्दै उपमेयर चित्रसेन अधिकारीले यसबाट महानगरलाई थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा तथा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।
पूरक बजेटमार्फत थप २४ नयाँ कार्यक्रम तथा शीर्षकहरूमा रकम छुट्ट्याइएको छ, जसअनुसार पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न नागरिकको मिर्गौला रोग उपचार (डायलासिस सेवा)का लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपूरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारका लागि २० लाख, विपन्न आर्थिक सहायताका लागि ५ लाख, भरतपुर आँखा अस्पतालका लागि १ करोड, वडास्तरीय पार्क निर्माण (वडा नं १८)का लागि ३० लाख र एमआरसी सेन्टर स्थापनाका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी स्मार्ट सिटीको गुरुयोजना निर्माणका लागि १ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड, मागमा आधारित सडक ग्राभेलिङका लागि १ करोड र ह्युमपाइप खरीदका लागि ५० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । यसबाहेक अन्य कार्यक्रममा समेत बजेटको व्यवस्था गरिएको छ । ‘स्रोत सुनिश्चित गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौं,’ उपमेयर अधिकारीले भने, ‘यसले समुन्नत र सुदृढ महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’
पूरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुगेको छ । महानगरले चालू आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्ममा चालूतर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजीगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको छ । महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ३४ करोड २९ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत मात्र संकलन भएको छ ।
नगरसभाले महानगरको विकासका कामलाई तीव्रता दिँदै आर्थिक गतिविधि चलायमान बनाउनेगरी भएका निर्णयहरू सर्वसम्मत अनुमोदन गरेको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर रेनु दाहालले भरतपूरको विकासका लागि पार्टीभन्दा माथि उठेर आफूले विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निष्पक्ष रूपमा काम गर्ने बताइन् । करको दरभन्दा दायरा फराकिलो बनाई भरतपुरको आन्तरिक आम्दानी बढाउन सबै जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा समेत उनले गरिन् ।