भरतपुर महानगरले ल्यायो पूरक बजेट

चितवन । भरतपुर महानगरपालिकाले पूरक बजेट ल्याएको छ । १२औं नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको हो । शुक्रवार पूरक बजेट प्रस्तुत गर्दै उपमेयर चित्रसेन अधिकारीले यसबाट महानगरलाई थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा तथा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ । पूरक बजेटमार्फत थप २४ नयाँ कार्यक्रम तथा शीर्षकहरूमा रकम छुट्ट्याइएको छ, जसअनुसार पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न नागरिकको मिर्गौला रोग उपचार (डायलासिस सेवा)का लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपूरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारका लागि २० लाख, विपन्न आर्थिक सहायताका लागि ५ लाख, भरतपुर आँखा अस्पतालका लागि १ करोड, वडास्तरीय पार्क निर्माण (वडा नं १८)का लागि ३० लाख र एमआरसी सेन्टर स्थापनाका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी स्मार्ट सिटीको गुरुयोजना निर्माणका लागि १ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड, मागमा आधारित सडक ग्राभेलिङका लागि १ करोड र ह्युमपाइप खरीदका लागि ५० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । यसबाहेक अन्य कार्यक्रममा समेत बजेटको व्यवस्था गरिएको छ । ‘स्रोत सुनिश्चित गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौं,’ उपमेयर अधिकारीले भने, ‘यसले समुन्नत र सुदृढ महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’ पूरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुगेको छ । महानगरले चालू आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्ममा चालूतर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजीगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको छ । महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ३४ करोड २९ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत मात्र संकलन भएको छ । नगरसभाले महानगरको विकासका कामलाई तीव्रता दिँदै आर्थिक गतिविधि चलायमान बनाउनेगरी भएका निर्णयहरू सर्वसम्मत अनुमोदन गरेको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर रेनु दाहालले भरतपूरको विकासका लागि पार्टीभन्दा माथि उठेर आफूले विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निष्पक्ष रूपमा काम गर्ने बताइन् । करको दरभन्दा दायरा फराकिलो बनाई भरतपुरको आन्तरिक आम्दानी बढाउन सबै जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा समेत उनले गरिन् ।

सम्बन्धित सामग्री

भरतपुर महानगरले ल्यायो नौ करोड बढीको पूरक बजेट

भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताउनुभयो । चालू …

भरतपुर महानगरले ल्यायो रु नौ करोड बढीको पूरक बजेट

चितवन, २२ पुस : भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।