आर्थिक मन्दीको असर : लक्ष्य अनुसार राजस्व संकलनमा चितवनका पालिकाहरू असफल

चितवन । जिल्लाका सातओटा पालिकाहरू चालू आर्थिक वर्ष (आव) ०७९/८० मा आन्तरिक राजस्व संकलनको लक्ष्यमा पुग्न असफल हुने देखिएका छन् । कोरोना कहरपछि आएको आर्थिक मन्दीका कारण चालू आवमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको स्थानीय पालिकाहरूले जानकारी दिएका छन् ।  भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा १ अर्ब ५० करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको जेठ ३० गतेसम्म महानगरपालिकाले ९६ करोड ५८ लाखमात्रै राजस्व संकलन गरेको  छ । यस राजस्वमा घरजग्गा रजिष्टे«शन शुल्कलगायत सबै जोडिएको छ ।  महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले महानगरपालिकाले आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य राखेको भए पनि लक्ष्य अनुसार राजस्व असुली नभएको बताए ।  ‘घरजग्गा कारोबार नहुनु, उद्योग व्यवसायहरू आर्थिक मन्दीको मारमा पर्नु, पूँजीगत खर्च कम हुनुलगायतका विविध कारणले राजस्व संकलनको लक्ष्यमा पुग्न सकेनौं । तर, भरतपुर महानगरपालिका लक्ष्यको नजिक पुग्न कोशिश गर्नेछ,’ अर्यालले भने ।  भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १ अर्ब ७५ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ । रकम अभावका कारण योजनाहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिएपछि भरतपुर महानगरले गत माघ अन्तिममा पूरक बजेट ल्याएको थियो । तर पनि राजस्व संकलन बढ्न सकेन ।  महानगरले १२औं नगरसभामार्फत २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको थियो । महानगरले पूरक बजेट ल्याएसँगै भरतपुर महानगरको चालू आवको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुगेको थियो । यस्तै, रत्ननगर नगरपालिकाले आन्तरिक लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले चालू आव २०७९÷८० का लागि ११ करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको बताए । ‘जेठ अन्तिमसम्म ९ करोड ५० लाख राजस्व आन्तरिकरूपमा संकलन भएको छ । तर, लक्ष्य अनुसार राजस्व संकलन गर्न गाह्रै छ,’ सुवेदीले भने ।  यस राजस्वमा पनि घरजग्गा रजिष्ट्रेशन शुल्क जोडिएको छैन । उनका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा रत्ननगर नगरपालिकाले ९ करोड ८१ लाख राजस्व संकलन गरेको थियो । देशमा आर्थिक मन्दी छाउनु, व्यापार व्यवसाय तथा उद्योगहरू फस्टाउन नसक्नु लगायतका कारणले आन्तरिक राजस्व संकलन कमजोर भएको उनले बताए ।  उनले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको बताए । यसैगरी, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले चालू आर्थिक वर्षका लागि १५ करोड ८० लाख ७० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको बताए । जेठ अन्तिमसम्म घरजग्गा रजिस्टे«शन शुल्कसमेत गरी १२ करोड ५२ लाख ८८ हजार राजस्व संकलन भएको छ । ‘लक्ष्यनजिक त खैरहनी नगरपालिका पुग्छ । तर, लक्ष्य भेटाउन मुस्किल छ,’ उनले भने । यस्तै, कालिका नगरपालिका पनि आन्तरिक राजस्व संकलनको लक्ष्यमा पुग्न सक्ने अवस्था देखिँदैन । कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले पाँच करोड ४० लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य लिएको बताए । ‘जेठ महीनासम्म ४ करोड ९२ लाख राजस्व संकलन भएकोमा असार महीनामा उठेको राजस्व जोड्दा लक्ष्यको नजिक पुग्छौं भन्ने आशा छ,’ उनले भने । उनले हालको राजस्व संकलनमा घरजग्गा रजिष्ट्रेशन जोडिएको बताए । यसैगरी, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले लक्ष्यभन्दा निकै कम आन्तरिक राजस्व संकलन भएको बताए । नगरपालिकालाले १३ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिए पनि ९ करोड आन्तरिक राजस्व संकलन भएको उनको भनाइ छ । आन्तरिक विवादका कारण नगरपालिकाको आन्तरिक राजस्व संकलन लक्ष्यमा पुग्न नसक्ने देखिएको छ ।  यस्तै इच्छाकामना गाउँपालिकाको आन्तरिक राजस्व संकलनले पनि लक्ष्य भेटाउन सकेको छैन । इच्छाकामनाका लेखा अधिकृत उद्गम तिमिल्सिनाले चालू आवको लक्ष्य ७ करोड ६० लाख ३६ हजार ६१२ रहेको बताए । जेठको अन्तिमसम्म २ करोड ३५ लाख ४६ हजार ९० रुपैयाँ मात्र संकलन  भएको छ । उनका अनुसार उक्त राजस्व संकलनमा घरजग्गा रजिष्टे«शन, भ्याट, अन्तःशुल्क, रोयल्टी जोडिएको छैन, जसका कारण लक्ष्य र संकलनमा धेरै अन्तर देखिएको छ ।