यो लेख लेखिरहँदा नेपालको शेयरबजार परिसूचक नेप्से २२८१ को विन्दुमा झरेर पुनः २४१९ मा पुगेको छ । ३ दिनको बीचमा बजारमा ठूलो उतार चढाव भएको छ । लगातार २ दिन ८८ दशमलव ७० र ७९ दशमलव ७५ अंकले नेप्से घटेको भोलिपल्ट १३७ अंकसहित ६ प्रतिशतले शेयर बढ्यो । यसले हजारौं लगानीकर्तालाई निराश बनाउँदै पुनः सम्हालिएको अवस्था छ । तर, यस्तोमा दुःख मनाउ गरेर हुनेवाला केही छैन । किनकि शेयर बजार एक–दुईजना लगानीकर्ताको हातमा छैन ।
यदि शेयरबजार गलत हो भने विश्वका अन्य देशले रोक्नुपर्ने हो, तर रोक्दैनन् । जहाँसुकैको शेयरबजारमा शेयर किनबेच हुन्छन् । कसैको भाषणमा आएका अभिव्यक्तिकै कारण बजार घट्ने र अर्को कसैको बोलीले बढ्ने भन्ने हुँदैन ।
बजार पूँजीकरण केही महीनायता १२ खर्बले घटेको छ । बितेको ४ महीनामा ९०० अंकले शेयर घटेर १०० अंकले बढेको छ । बितेको २ दिनमा जुन गतिमा बजार बियरिश भयो । बजार यसरी ओरालो लाग्नुमा कतिपयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही २५ मङ्सिरमा गरेको भाषणलाई दोषी देखाइरहेका छन् ।
भाषणमा उनले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छोडेर शेयरमा हुने गरेको, जुन साम्राज्यवादको विकसित रूप हो भनेका थिए । शेयरबजार, कमोडिटी बजार, एशियाली विकास बैंक, विश्व बैंकलगायतमा लगानी गर्नु नै गलत रहेको उनको भनाइ थियो । उनले यो त्यत्तिकै भने वा वित्त विज्ञसँग सल्लाह लिएर भने, यो पंक्तिकारलाई थाहा भएन । तर विश्वमा दैनिक खर्बौं डलरको लगानी शेयरबजारमा भएको छ । यो रोक्ने प्रयास गर्नु सम्भवतः सक्रिय ज्वालामुखीको क्रेटरमा हत्केला राखेर लाभा रोक्ने प्रयास गर्नु जस्तै हो ।
यदि शेयरबजार गलत हो भने विश्वका अन्य देशले रोक्नुपर्ने हो, तर रोक्दैनन् । जहाँसुकैको शेयरबजारमा शेयर किनबेच हुन्छन् । त्यसैले एकजना बोलेर बजारमा केही असर पर्दैन । चीन, भियतनाम, क्युवा, हङकङमा पनि शेयर बजार छ । चीनले पनि विश्व बैंक शैलीमै एशियाली पूर्वाधार लगानी बैंक बनाएर पूँजी जम्मा पार्ने र लगानी गर्ने काम गरिरहेको छ । कसैको भाषणमा आएका अभिव्यक्तिकै कारण बजार घट्ने र अर्को कसैको बोलीले बढ्ने भन्ने हुँदैन ।
शेयरबजार आजबाट घटेको होइन, दाहालको भाषणअघि नै बजार पूँजीकरण ११ खर्ब गुमिसकेको थियो । २८ गते एक दिनमै बजार ६ प्रतिशतले बढ्यो । त्यो दिन बजार कसको भाषणका कारण बढेको हो त ? कसैसँग जवाफ छैन ।
बजार नाटकीय रूपमा घटबढ हुने गर्छ । यही घटबढलाई हेरेर बढ्दा बेच्न र घट्दा किन्न माहिर खेलाडीले करोडौं कमाउँछन् । त्यसैले आर्थिक विषयको जानकारीविना शेयरबजारको बारेमा टिप्पणी गर्नु निरर्थक हुन्छ । कसैको फगत टिप्पणीमा बजारलाई मेरूदण्ड मर्किने गरी खसाल्न र फेरि विस्तारै मल्हम लगाउन यसका पारखीहरू चतुर छन् ।
त्यसैले शेयर किनबेच गर्दा कम्पनीको वासलात हेरेर त्यहाँको सम्पत्ति र दायित्वको तालमेल हेरेर लगानी गर्ने बानी बसाल्नैपर्छ । प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ आदि हेरेर शेयर किन्नुपर्छ, जुन लगानीका लागि आधारभूत पक्ष हुन् । विश्वभरको शेयरबजारमा नाटकीय रूपमा उतारचढाव भइरहेको छ । केही दिन अगाडि भारतीय सेन्सेक्स एकै दिनमा ११०० घटेर तहल्का मच्चायो र त्यसको तेस्रो दिन झन्डै त्यति नै बढेर हरियालीयुक्त बायो । त्यहाँ त दाहालको भाषणले असर गरेको होइन ।
केही दिन दिनअघि भारतका भारतीय जनता पार्टीका नेता सुब्रमण्यम् स्वामीले सार्वजनिक भाषणमा भारतका प्रधानमन्त्री मोदी र अर्थमन्त्री निर्मला सीतारमणलाई अर्थशास्त्र फुट्टी आउँदैन, त्यसैले महँगी बढिरहेको बताएका थिए । यो सामान्य आरोप होइन । किनकि त्यहाँकी अर्थमन्त्री सीतारमणले अर्थशास्त्रमा डिग्री प्राप्त गरेकी छन् । यस्तो भनाइ मिडियामा आउँदा पनि त्यहाँको बजारलाई असर परेन । तर, नेपालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेयरबजारलाई जुवाजस्तै हो भन्दा पनि बजारमा ठूलै ह्रास आयो । त्यतिबेला शेयरबजार ११७५ अंकबाट घटेर ९०० अंकमा आइपुगेको थियो । अहिले दाहालका भनाइले पनि ठूलै तरंग ल्यायो, जुन अपेक्षित नै थिएन ।
गरीबीको बारेमा जति नै चिन्तन गरे पनि पूँजीविना मानवको गाँस, वास, कपास चल्दैन । उत्पादन, कृषि, पशुपालनलगायत हरेक क्षेत्रमा लगानी गर्न पूँजी नै चाहिन्छ । त्यसैले पूँजी बजारका खराबीलाई गाली गरेर न बाबुराम वा पुष्पकमलले अर्को कुनै वाद जगाउन सक्छन्, न त ८ अर्ब विश्व जनसंख्याले हात मुख जोर्ने उपाय रच्न अर्को कुनै उपाय देखिन्छ ।
अब पूँजीवादसँग पैठाजोरी खेलेर जित्न समाजवाद वा साम्यवादलाई कतैबाट पनि सम्भव देखिँदैन । किनकि पूँजीमा चुम्बकीय शक्ति हुन्छ जसले, युवावर्ग, विद्वान्वर्ग, प्रविधि, औषधि–उपचार, रोजगारीका अवसर, विभिन्न रिसर्च र त्यसका आउटकमहरू सबैलाई आफूतिर तानिरहेको छ । पूँजीको भुमरीसँग घुम्न नसक्नेहरू नदीकिनार पतिंगर फालिएझैं फालिन्छन् । यो यथार्थ दाहाललाई पनि थाहा छ कि एउटा चुनाव जित्न कति पूँजी चाहिन्छ ?
हो, शेयरबजारमा मानिसहरू लगानीका उद्देश्यले नभई व्यापारको सोच बनाएर आएका छन् । लगानी गर्नेका लागि आजसम्म यो घाटामा छैन । २ दिनमा लगानीकर्ताले २ खर्ब ६० अर्ब जति गुमाए । अर्को दिन अर्को दिन त्यति नै रकम फर्केको छ । त्यसैले कसैले केही भनेर शेयरबजारलाई तात्त्विक असर पर्दैन । बीचका खेलाडीहरूले भने सानो सानो घटनालाई देखाएर बजारलाई तलमाथि गराउँछन् ।
आजभन्दा ३० वर्ष अगाडि नापी कार्यालय एक जना सर्वेक्षकले ८०० रुपैयाँमा एउटा बैंकको शेयर र ६०० रुपैयाँमा नापीका लागि एउटा स्केल किनेका थिए । आज त्यो शेयर बढेर २० लाख रुपैयाँ बराबरको भएको छ । त्यही प्रकृतिको स्केलको मूल्य घटेर ४०० भएको छ । त्यो स्केलबाट पनि अनेक काम त भयो होला, तर शेयरले भने ठूलै फड्को मारेको छ । राम्ररी सोचविचार गरेर आकर्षक लाभांश दिन सक्ने क्षमता भएको कम्पनी छानेर मात्र शेयरबजारमा लगानी गर्नुपर्छ । उद्देश्य निर्धारण गरी ‘यतिसम्म बढेमा वा कुनै सीमाभन्दा यतिसम्म घटेमा’ शेयर बेच्ने रणनीतिका साथ लगानी गर्दा जोखिम कम गर्न सकिन्छ ।
एउटा चिया पसलमा त राम्रो सेवा दिएमा ख्याति बढ्छ र मूल्य बढ्छ भने स्थापित कम्पनीको मूल्य त्यसै घट्दैन । त्यसैले, धैर्यसाथ बियर सामना गर्दै बुलको प्रतीक्षा गरौं । वारेन बफेट, राकेश झुनझुनवाल र नेपालकै निर्मल प्रधानलाई हेरेर लगानी नगरौं । कम्पनीको अवस्था विश्लेषण गरेर आफ्नो अवस्थाअनुसार लगानी गरौं । यति गर्दा जसले जे बोले पनि केही फरक पर्दैन ।
लेखक कैलाशकुट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय प्राध्यापन गर्छन् ।