भनिन्छ, जलवायु परिवर्तनका कारण निकट भविष्यमै हिमनदीहरूको अन्त्य हुँदै छ । जलवायुसम्बन्धी विषय विज्ञहरूले लामो समयदेखि विश्वमा तीव्र गतिमा फैलिएको जलवायु परिवर्तनको असरका कारणले शुरूमा हिमनदी पग्लने र बिस्तारै हिमनदी सुक्ने, हिमताल पनि फुट्ने र सुक्ने एवम् प्रकारले हिमालमा रहेको हिउँ पग्लेर नाँगो डाँडो (काला पहाड/भीर) मा परिणत हुने अनुमान गरेका छन् ।
मौसममा बाढीपहिरो आउने क्रम बढ्नुका सहायक कारणहरू अरू नै भए तापनि मुख्य कारण जलवायु परिवर्तनको असर नै हो भन्ने ठम्याइ विज्ञहरूको छ ।
त्यसैले विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद्हरूले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा कटौती गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । तर, उनीहरूको आवाज जति सुन्नुपर्ने हो, सम्बद्ध पक्षले सुनेको छैन ।
जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनाश, बेमौसमा बढ्ने गर्मी र बेमौसमा हुने जाडो, विना सिजनमा पर्ने पानी, मुसलधारे वर्षा, हिउँद याममा पनि अचानक आउने बाढी आदि परिवर्तन देखिएका छन् जसबाट हिमालभन्दा तल रहेका बस्तीका मानिसले अचानक र बेमौसममा बेहोर्नुपर्ने प्राकृतिक विपत्तिहरू सहनु परेको छ । यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खास गरी नदी आसपास) मा बसोवास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असरका साथै भविष्यमा स्वच्छ पानी खानेको मुहान नै सुक्ने वा अन्त्य हुने सम्भावना रहेको देखिन्छ । त्यसैले विषयविज्ञहरू यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने ? र, यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा बहस र छलफल गरिरहेका छन् । तर पनि हालसम्म मतैक्य भने हुन सकेको देखिँदैन ।
त्यसो त जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा विश्वका ठूला (विकसित र औद्योगिक देशहरू) देशहरूले जिम्मेवार छन् । अमेरिका, रूस, चीन, अस्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देशहरू नै बढी कार्बन उत्सर्जन गर्ने मुलुक हुन् । उनीहरूबीच जलवायु परिवर्तनसम्बन्धी कस्तो नीति अपनाउने ? कस्तो मापदण्ड बनाउने ? भन्ने सम्बन्धमा एकमत नभएकाले यसबारेमा गलफत्ती भइरहेको छ । तर, पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरू जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले चाहिँ आफूहरू भर्खरै मात्रै उद्योगधन्दा र कलकारखाना चलाउने देशमा दरिएको भएकाले विकसित देशहरू अमेरिका, रूस, चीन, अस्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटलीले भन्दा कमै मात्र ‘हरित गृह ग्यास उत्पादन गर्ने हुँदा !’ सजाय, मापदण्ड पनि कमै हुनुपर्ने भन्ने आग्रह गरिरहेका छन् । अन्तरराष्ट्रिय सम्मेलनमा यी देशहरूको एउटै आवाज आउन सकेको छैन । एकअर्कामाथि दोष थोपर्ने गरेको पाइन्छ ।
विकसित तथा औद्योगिक देशहरूले विश्वको ३२ देखि ३७ प्रतिशत पानी र अधिकांश प्राकृतिक स्रोतसाधन दोहन गर्दै आएका छन् भन्ने विज्ञहरूको लेखाजोखा रहेको छ । यी औद्योगिक देशहरूले विश्वको झन्डै ८१–८२ प्रतिशत वायुप्रदूषण गरेका छन् । यिनले ग्यास, धूवाँ, फोहरलगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहोरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असरचाहिँ नेपाललगायत कमविकसित तथा अल्पविकसित देशहरूले धेरै नै भोग्नु परेको छ । जलवायु परिवर्तनसम्बन्धी जानकारहरू के पनि भन्छन् भने, जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरूको अटेरीपन र दादागिरी कायमै रहेमा अबको ५० वर्षमा स्वच्छ खाने पानीको संकट आउन सक्छ । साथै, घरबास संकट र खाद्यान्न संकटको पनि ठूलो समस्या आइपर्ने पक्का छ ।
हालै आएको एक समाचारअनुसार विश्वका प्रायः सबै हिमनदी तीव्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङ–घाई आसपासमा बढी नै तीव्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ । केही समयअघि संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एन्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीहरूलाई उद्धृत गर्दै लेखिएको एक फिचर आलेखमा जनाइएअनुसार अनुमान गरेभन्दा धेरै छिटो हिमनदीहरू पग्लने क्रम बढेको छ । यसरी अनुमान गरेभन्दा छिटो र तीव्र गतिमा हिमनदी पग्लने क्रम बढ्नुमा ‘पोजिटिभ आइस–लस फिडब्याक’ भन्ने वैज्ञानिक प्रक्रिया वा भनूँ सिद्धान्तअनुसार हिमनदी पग्लने क्रम बढेको हो भन्ने अध्ययनमा संलग्न वैज्ञानिकहरूको भनाइ रहेको छ । हुन पनि नेपाल, चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तानलगायत हिमालय क्षेत्रका देशहरू र केही यूरोपेली देशहरूमा समेत बेमौसमी बाढीपहिरो आउने क्रम बढेको देखिन्छ ।
गत वर्ष हिउँद याम (फेब्रुअरी महीना) मा भारतको नन्दादेवी हिमाल आसपासको हिमनदी र हिमाल पग्लेर बाढी पहिरो आएको थियो । यो बाढी र पहिरोले गर्दा नजिकैको जलविद्युत् परियोजना रहेको ड्याम र आसपासका गाउँबस्तीहरू तहसनहस बनाएको थियो । यूरोपमा बाढी आएर धेरै समस्या भएको थियो । नेपालमा पनि यसपटक यस्तै खालको वर्षा र बाढी आएर क्षति पुग्यो । त्यस्तै हिमपहिरो पनि गयो । यसरी बेमौसममा बाढीपहिरो आउने क्रम बढ्नुमा सहायक कारणहरू अरू नै हुन सके तापनि मुख्य कारण जलवायु परिवर्तनको असर नै हो भन्ने ठम्याइ विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता तथा वातावरणविद्हरूको रहेको छ ।
जलवायु परिवर्तनले विश्वव्यापी रूपमा ल्याउने नकारात्मक र दीर्घकालीन असरलाई कसरी रोक्ने वा कम गर्ने ? भन्नेबारे अनुसन्धानकर्ता तथा वातावरणविदहरू चिन्तित छन् । तर, शक्तिशाली, विकसित र औद्योगिक भनिएका देशका नेताहरूको मतैक्य नरहेसम्म यो मामिलाको समाधान निस्कन धेरै समय लाग्ने देखिन्छ । हुन त के पनि भनिन्छ भने जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरूको अटेरीपन र दादागिरी कायमै रहेमा अबको ५० वर्षमा अरू कुरोहरूका साथै स्वच्छ पिउाने पानीको संकट हुनेछ । जलवायु परिवर्तनका कारण बसाइ सराइजस्ता समस्या बढ्ने, खाद्यान्न संकट हुने लगायतका थप समस्या यही कारण आउने देखिन्छ । त्यही भएर विश्वभरि नै दिगो विकास र वातावरण संरक्षणको मुद्दालाई सँगसँगै हेर्न थालिएको छ ।
लेखक पर्यटनकर्मी हुन् ।