आउँदाे पाँच वर्षमा सडकदेखि बिजुलीसम्म उल्लेख्य सुधार हुनेछ : योजना आयोगका उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले आउँदाे ५ वर्षमा सडकदेखि बिजुलीसम्म पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार हुने बताउनुभएको छ । काठमाण्डौ–निजगढ फास्ट ट्र्याकमा २०८१ साल पुषसम्ममा टनेल बनिसक्ने र यसका लागि सरकारले आर्थिक समस्या नहुने विश्वास दिलाएकाले केही वर्षमै सम्पन्न हुने दिशामा रहेको उहाँको भनाइ छ । विकास निर्माणमा पाँच वर्षपछिको नेपालबारे सामाजिक सञ्जालमा उपाध्यक्ष पौडेलले सडक विभागले नारायणगढ–पथलैया सडक विस्तारको तयारी गरेको, इनरुवादेखि काँकडभिट्टा खण्डको सडक चौडा गर्न लागिए...

सम्बन्धित सामग्री

लगानी सम्मेलन लक्षित कार्यशाला : ‘लगानी भित्त्याउने वातावरण सुधारको खाँचो’

काठमाडौं। तेस्रो लगानी सम्मेलनलाई लक्षित गरी लगानी बोर्ड नेपालले भारतीय कम्पनीसँगको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप बोर्डले केपीएमजी इन इन्डियाको सहकार्यमा शुक्रवार उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानूनी, प्रक्रियागत तथा नियामकीय सुधार, नवप्रवर्तनमा आधारित पहलका विषयमा बृहत् छलफल भएको थियो । नेपालमा स्वदेशी तथा विदेशी निजीक्षेत्रको लगानी भित्त्याउन लगानीको वातावरण सुधार हुनुपर्नेमा कार्यशालाका सहभागीहरूले जोड दिएका छन् । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्रका हरेक क्षेत्रमा सम्भावना उजागर हुन बाँकी रहेको बताए । ‘यसकारण नेपालका लागि थप लगानी आवश्यक छ,’ उनले भने । नेपालको पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने उनले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना, स्थायित्व एवम् समावेशी आर्थिक विकासले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति दिगो हुने धारणा राखे । सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह हुने बताए ।  लगानी सम्मेलनको पूर्व तयारीस्वरूप प्रवर्द्धनात्मक कार्यक्रम, परियोजना बजारीकरण, ‘रोड शो’ तथा नीतिगत बहसका विविध कार्यक्रम गर्ने तयारी बोर्डले गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले तेस्रो लगानी सम्मेलनले सम्भावित र सक्षम लगानीकर्तालाई उल्लेख्य अवसर प्रदान गर्ने बताए । ‘लगानीसम्बन्धी कानून पुनरवलोकन गरी कनेक्टिभिटीका रणनीतिक पूर्वाधार तथा पर्यटन, सूचनाप्रविधि र उत्पादनमूलक उद्योगमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य भइरहेको छ,’ उनले भने । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले विदेशी लगानी र विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्त्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने र नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे जानकारी गराइन् । केपीएमजी इन इण्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले आगामी लगानी सम्मेलनले नेपालमा लगानीका अवसर हेरिरहेका लगानीकर्तालाई आकर्षित गर्ने बताए । लगानी सम्मेलनअघि पूर्व तयारीस्वरूप प्रवर्द्धनात्मक कार्यक्रम, परियोजना बजारीकरण, ‘रोड शो’ तथा नीतिगत बहसका विविध कार्यक्रम गर्ने तयारी बोर्डले गरेको छ । सम्मेलनपछि पनि लगानीकर्तासँग निरन्तर छलफल तथा परामर्श गरी लगानी भित्त्याउन आवश्यक सबै प्रयास गरिने बोर्डले उल्लेख गरेको छ ।

‘८३% उद्योगी लगानी थप्न इच्छुक’

काठमाडौं (अस) । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिच लगानी थप्न तथा व्यवसाय विस्तार गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेका उद्योगी व्यवसायीहरू अब नयाँ लगानी थप्न इच्छुक भएका छन् । औद्योगिक अवस्थितिका विषयमा गरिएको एक अध्ययनले ८३ प्रतिशत उद्योगीहरू नयाँ लगानीका लागि तयार भएको देखाएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विभिन्न क्षेत्रगत उद्योगहरूमा गरेको अध्ययनले कोभिडको असर कम हुँदा र उद्योगी व्यवसायीको मनस्थिति पनि परिवर्तन भएकाले उनीहरू नयाँ लगानीका लागि तयार भएको देखाएको छ । परिसंघका अध्यक्ष विष्णु अग्रवालले कोभिडकै अवस्थामा पनि उद्योगी व्यवसायीहरूले लगानी गर्न इच्छा देखाएको बताए । थप लगानी गर्न उद्योगीहरू तयार भएको भन्दै उनले यसले औद्योगिक क्षेत्रमा अब सकारात्मक सुधार देखिने विश्वास व्यक्त गरे । सीएनआईले उद्योगको अवस्था, कोभिडको बीचमा उद्योगीहरू लगानीका लागि इच्छुक छन् वा अझै पनि पर्ख र हेरकै अवस्था हो भन्ने मनस्थिति बुझ्न पनि अध्ययन गरेको उनको भनाइ छ । परिसंघले गत आर्थिक वर्ष २०७७/७८ मा प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरी नेपाल उद्योग परिसंघले पहिलो औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक गरेको हो । शुक्रवार उक्त प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले सार्वजनिक गरेका हुन् । प्रतिवेदनअनुसार उद्योगको क्षमता ६४ दशमलव ८ प्रतिशतले उपयोग भएको र कोभिडको असर पनि कम हुँदै गएको अध्ययनको निष्कर्ष छ । उक्त अध्ययनमा उत्पादनमूलक उद्योग, सेवाक्षेत्र, कृषि र ऊर्जाक्षेत्रका उद्योग समेटिएको छ । गत आवमा उद्योगहरूले कुल उत्पादन क्षमताको उक्त क्षमता उपयोग गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा उद्योगको आय वृद्धि दर ८ प्रतिशतले बढेको देखाइएको छ । तर, त्यसअघिको वर्षमा भने यस्तो आय वृद्धि ४ दशमलव ७ प्रतिशतले गुणात्मक थियो । उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पूँजीको ६६ दशमलव १ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । नेपालमा ऊर्जा उत्पादन पर्याप्त भएका विषयहरू बाहिर आउँदै गर्दा यता ६९ दशमलव ७ प्रतिशत उद्योगहरूले भने जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको पाइएको छ । अध्यक्ष अग्रवालले २ ओटा कारणले अझै पनि जेनेरेटरबाट ऊर्जा उत्पादन गर्नु परेको बताए । ‘पहिलो उद्योगसम्म बिजुली नै नपुग्नु हो,’ उनले भने, ‘अर्काे भनेको बिजुली पुगे पनि गुणस्तरीय नभएको हुन सक्छ ।’ कोभिडका कारण त्रासमा रहेका उद्योगीहरूको सेन्टिमेन्ट पनि राम्रो हुँदै आएको पाइएको उनले बताए । उद्योगीहरू आशावादी बन्दै आएको उनको बुझाइ छ । उद्योगको उत्पादन लागत भने ४ दशमलव ९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरूसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार गरेको हो । २०७६ चैत ११ गते मुलुकमा भएको बन्दाबन्दी र जारी कोभिडका कारण उद्योगको क्षमता उपयोगमा उल्लेख्य ह्रास आएको थियो ।