काठमाडौं (अस) । खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गरेको छ । कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रूपमा बजारमा उत्रिने निर्णय गरेको हो ।
चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी भइरहेको कम्पनीले बताएको छ । रमको प्याकेजिङ तथा बोतलको लुक्स आकर्षक बनाइनुका साथै प्याक परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नहुने कम्पनीको भनाइ छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा ल्याइने कम्पनीले जानकारी दिएको छ ।
खुकुरी रमको पुराना प्याकको अन्तिम ब्याचका उत्पादन एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहनेछन् । हाल विश्वका १३ मुलुकमा निर्यात हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहक रोजाइअनुसार परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकले स्थानीय र विश्व बजारका ग्राहकको मन जित्ने विश्वास नेपाल डिस्टिलरीका महाप्रबन्धक शुभाष लामिछानेले
व्यक्त गरे ।