तीन वर्षपछि खुल्यो विद्युत् खरीदविक्री सम्झौता

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले करीब ३ वर्षपछि विद्युत् खरीदविक्री सम्झौता (पीपीए) खुलाएको छ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको खरीदविक्री सम्झौता (पीपीए) का लागि प्रवद्र्धक कम्पनीहरूलाई आह्वान गरेको हो । प्राधिकरणले मंगलवार सूचना प्रकाशित गरी पीपीएका लागि आह्वान गरेको छ ।  आरओआर आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा ६ हजार ७ सय ५० मेगावाट र पीआरओआरका लागि तोकिएको माथिल्लो सीमा ४५ सय मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णयअनुसार प्रवद्र्धक कम्पनीहरूलाई आह्वान गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवद्र्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवद्र्धक कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पीपीएका लागि निवेदन दिन भनेको छ । प्राधिकरणसँग ग्रीड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोलक्रमअनुसार पीपीएको कारबाही प्रक्रिया अघि बढाउने प्राधिकरणले जानकारी दिएको छ । तर, कतिपय जलविद्युत् कम्पनीहरूलाई वित्तीय व्यवस्थापन र आईई जस्ता समस्याले गर्दा तत्काल सम्झौता गर्न जान समस्या रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । प्राधिकरणले भने तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोलक्रमका आधारमा ग्रीड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख गरेको छ ।