काठमाडौं । बैंक, वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) वृद्धि भएको छ । बैंकिङ प्रणालीबाट लगातार निक्षेप घटेसँगै सीडी रेसियोमा दबाब बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिवार बैंकहरूको सीडी रेसियो ८५ दशमलव ७१ प्रतिशत पुगेको छ । फागुन मसान्तमा बैंकहरूको सिडी रेसियो ८५ दशमलव ६० प्रतिशत रहेकोमा चैत १ गते ८५ दशमलव ६९ प्रतिशत पुगेको थियो ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले सीडी रेसियो ९० प्रतिशत भन्दा कम कायम गर्नुपर्छ । गत सातादेखि बैंकिङ प्रणालीबाट निक्षेप लगातार घटिरहेको छ । फागुन ३० गतेको तुलनामा चैत १ गते ११ अर्ब रुपैयाँभन्दा धेरैले निक्षेप घटेको थियो । त्यसपछि पुन: बढेको निक्षेप शनिवार घटेको हो ।
राष्ट्र बैंकका अनुसार चैत ३ गते शुक्रवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत ४ गते शनिवार घटेर ५४ खर्ब ४ अर्ब रुपैयाँ कायम भएको छ । यअअघि फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधवार घटेर ५४ खर्ब २ अर्ब रुपैयाँ कायम भएको थियो । त्यसपछि बढेको निक्षेप शनिवार पुन: घटेको हो ।
वाणिज्य बैंकहरूबाट १ अर्ब रुपैयाँ निक्षेप घट्दा विकास बैंक र वित्त कम्पनीहरूको भने स्थिर छ । शुक्रवार वाणिज्य बैंकहरूसँग ४७ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा शनिवार ४७ खर्ब ६३ अर्बमा झरेको छ । गत बुधवार भने वाणिज्य बैंकहरूसँग ४७ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस्तै शनिवार विकास बैंक तथा फाइनान्स कम्पनीहरूको निक्षेप ६ खर्ब ४१ अर्ब रुपैयाँ कायम छ ।
यसैगरी बैंक, वित्तीय संस्थाको कर्जा शनिवार ४८ खर्ब १३ अर्ब रुपैयाँ छ । फागुन मसान्तको ४८ खर्ब १७ अर्ब रुपैयाँबाट चैत १ गते ४८ खर्ब १२ अर्बमा झरेको कर्जा शुक्रवार बढेर ४८ खर्ब १३ अर्ब पुगेको थियो ।
शुक्रवारको तुलनामा शनिवार अन्तरबैंक ब्याजदर भने ७ दशमलव शून्य १ प्रतिशतबाट घटेर ७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।