सुर्खेत । किसानलाई वित्तीय सेवा प्रवाहका लागि कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) र प्रभु बैंकबीच सम्झौता गरिएको छ । कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य श्रृंखलामा आबद्ध किसानको वित्तीय आवश्यकता पूर्ति गर्न दुई संस्थाबीच शुक्रवार काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा एएसडीपीका संयोजक विनोदकुमार भट्टराई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
‘कृषि उत्पादक, कृषि व्यवसायी, साना किसानको माग अनुसारको वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले एएसडीपी र प्रभु बैंकबीच सम्झौता गरिएको हो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले भने, ‘सम्झौतापछि कृषकलाई उपयुक्त बैंक, वित्तीय संस्था र सहकारीसँग जोड्न एएसडीपीले सहजीकरण गर्नेछ ।’ सम्झौताको कार्यान्वयनले मूल्य श्रृंखलामा आबद्ध कृषकको वित्तीय आवश्यकता सम्बोधन हुने उनले बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले सम्झौता अनुरूप लक्षित वर्गलाई कर्जा सेवासँगै वित्तीय साक्षरता समेत प्रदान गरिने बताए । एएसडीपीका संयोजक भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकासका लागि लगानीको अभाव हुन नदिन बैंकसँग सम्झौता गरिएको बताए ।
‘कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित छ,’ उनले भने, ‘कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका नागरिकको गरीबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी दिगो विकास लक्ष्य अनुरूप गरीबीको अन्त्य र शून्य भोकमरी प्राप्तिमा योगदान पुर्याउनु कार्यक्रमको उद्देश्य रहेको छ ।’