स्याङ्जा । अविरल वर्षासँगै आएको पहिरोका कारण बिहीवार बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालू भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान साढे १० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा बिहीवार बिहान साढे ३ बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो । उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएकोे छ । ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले ७ घण्टापछि सडक पूर्णरूपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । सडक अवरुद्ध हुँदा रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस