बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

बागलुङ । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।      गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।       सूचीकृत समूह वा सहकारीमा आबद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् । ‘दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुन सक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ’,  भट्टराईले भने, ‘यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।’ कार्यक्रमका लागि जिल्लाभर ३० लाख खर्चिइनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउनेछन् ।      समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उनी बताउँछन् । ‘च्याउ खेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ’,  उनले भने, ‘मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’ यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उनले बताए । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । ‘सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्’, भट्टराई भन्छन्, ‘सहयोगले परिवारमा कुपोषणका कारण आउन सक्ने ठूलो क्षतिलाई कम गर्छ ।’  कार्यक्रममा सहभागी हुन कार्यालयले आह्वान गरे पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पुर्‍याउन कठिन छ । समुदाय स्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ । रासस

सम्बन्धित सामग्री

'एकीकृत पोषण कार्यक्रम' सञ्चालनमा

लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेसनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।

खाद्य तथा पोषण सुधारका लागि विश्व बैंकबाट २ अर्ब ६२ करोड अनुदान लिइने

१८ साउन, काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधारका लागि विश्व बैंकबाट २ अर्ब ६२ करोड रुपैयाँ अनुदान लिइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुपम दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका […]

गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा गर्भवतीका लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्न रु पाँच लाख बजेट विनियोजन […]

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ।